साफ यू–१९ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिकाअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
पोखरा रंगशालास्थित फुटबल स्टेडियममा आउँदो शनिबार अर्थात १७ माघदेखि २४ माघसम्म संचालन हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश गरी चार देशले प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। सहभागी टोलीहरु बिहीबार साँझसम्म पोखरा आइसक्ने उनले बताए।
सहभागी टोलीको प्रशिक्षण लागि पोखरा लामाचौरस्थित गोस्ते खेलमैदानमा व्यवस्था गरिएको छ। च्याम्पियनसिप हेर्न दर्शकहरुका लागि साधारण पारापिटतर्फ दुई सय र भीआइपी पारापिटतर्फ पाँच सय रुपैयाँ टिकटदर तोकिएको उनले जानकारी दिए।
साफका महासचिव पुरुषोत्तम कट्टेलले च्याम्पियनसिपमा सात देशको सहभागिता रहनुपर्नेमा विविध कारणले श्रीलंका, पाकिस्तान र माल्दिभ्स सहभागी हुन नसकेको जानकारी दिए।
प्रतियोगिता संचालनका लागि दुई करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च हुने अनुमान रहेको र यो रकम फिफाबाट प्राप्त हुने कट्टेलले जानकारी दिए। पोखराको मैदानमा कमि रहेका आवश्यक पूर्वाधारहरु बनाउने हो भने सन् २०२८ मा पोखरामै साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने योजना आफूहरुको रहेको उनले बताए।
सुरुमा पोखराको मैदानमा सामान्य पूर्वाधारहरुको कारण प्रतियोगिता आयोजना गर्न नसकिने अवस्था रहे पनि खेलाडी चेन्जिङ रुम, प्लयेर बक्स, मैदान मर्मत सम्भार, साउण्ड सिस्टम, ड्रेसिङ रुमलगायत आवश्यक सम्पुर्ण पूर्वाधारहरु विभिन्न संघ संस्थाको सहयोगमा तयार पारिएको स्थानीय आयोजकसमेत रहेका एन्फा कास्कीका अध्यक्ष उज्जल रञ्जितले बताए।
एन्फाका सिइओ ईन्द्रमान तुलाधरले च्याम्पियनसिपको लागि नेपाली टोली प्रशिक्षक यमप्रसाद गुरुङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको जानकारी दिए। सहभागी चार देशका टिम प्रशिक्षक र कप्तानसँग शुक्रबार पत्रकार सम्मेलन गरिने उनले बताए।
सिंगल राउन्ड रोविनका आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपको पहिलो दिन १७ गते पहिलो खेल बंगलादेश र भुटानबीच तथा दोस्रो खेल नेपाल र भारतबीच हुने छ। १९ गते पहिलो खेल बंगलादेश र भारत तथा दोस्रो खेल भुटान र नेपालबिच हुने छ। २१ गते पहिलो खेल भारत र भुटान तथा दोस्रो खेल नेपाल र बंगलादेशबिच हुनेछ। सहभागी टोलीले समान तीन–तीन खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टोलीबिच २४ गते उपाधि भिडन्त हुने छ।