ओ.एन. बायोटेकले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण

ओ.एन. बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० दरका ३० लाख कित्ता साधारण शेयर सार्वजनिक रूपमा निष्कासन गर्ने तयारी गरेको हो।

यस सम्बन्धमा मिति २०८२ साल माघ १४ गते बुधबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा ओ.एन. बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडका तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका हुन्।

वि.सं. २०७६ साल पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओ.एन. बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१६ मा रहेको छ। कम्पनीका उद्योग क्षेत्र तिलोत्तमा नगरपालिका–१६, १७ तथा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–१ मा अवस्थित छन्।

कम्पनीले कृषि उत्पादनपछि खेर जाने सहायक सामग्री-पराल, भुस, उखुको बगास, तोरीको पिना तथा भुसलगायत-प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ। साथै गहुँ, जुनेलो र कोदोको प्रयोगबाट च्याउका बीउ उत्पादन गरी विभिन्न प्रकारका च्याउका बीउ–बीजन बजारमा उपलब्ध गराउँदै आएको छ। ताजा च्याउको बजारीकरणसँगै अत्याधुनिक प्रविधिबाट ड्राई मसरुम उत्पादन गरिरहेको कम्पनीले आगामी दिनमा क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्य लिएको छ।

च्याउ उत्पादनका अतिरिक्त कम्पनीले मौसमी तरकारी उत्पादन तथा बजारीकरण, किसानका लागि कम्पोष्ट मल उपलब्ध गराउने तथा प्राङ्गारिक मल उत्पादन गरी बिक्री वितरण गर्ने योजना अघि बढाएको छ। च्याउ उत्पादनमा देशलाई आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्द्धन गर्ने लक्ष्यका साथ कम्पनीले गोब्रे तथा कन्ये च्याउ उत्पादनका लागि आवश्यक कम्पोष्ट तथा सहायक सामग्री नेपालभरका किसान तथा व्यावसायिक कृषकलाई उपलब्ध गराउँदै आएको छ।

सुझावित समाचार