नेपाली सिनियर क्रिकेट टोलीले मुम्बईमा आइसिसी पुरुष टी–२० विश्वकपको प्रशिक्षण थालेको छ । श्रीलंकाको ‘ए’ टोलीसँगको तीनवटा अभ्यास खेलपछि टोली सीधै मुम्बईमा पुगेको हो । जहाँ नेपालले मुम्बईकै एमसिए प्रेसिडेन्ट ११ विरुद्ध तीनवटा अभ्यास खेल खेल्ने तालिका रहेको छ । त्यसपछि नेपालले क्यानडा र युएईसँग विश्वकपअगाडि अन्तिम अभ्यास खेलमा सहभागी हुनेछ । नेपाली टोलीले आगामी ७ फेब्रुअरीअगाडि आफ्नो अन्तिम तयारी गर्नेछ ।
नेपालका सबै खेल मुम्बईकै विश्व प्रसिद्ध वानखेडे रंगशालामा छ । एकै स्थानमा सबै खेल हुँदा नेपाली खेलाडीहरू त्यहाँको वातावरण र मैदानसँग भिज्न एक साताअगाडि नै मुम्बई पुगेका हुन् । नेपाल समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकपमा सहभागी हुन लागेको हो । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा डेब्यु गरेको थियो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगालदेशविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल एक रनले चुकेको थियो । यसपटकको विश्वकप यात्रामा नेपालले अघिल्लोपटकको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने कप्तान रोहितकुमार पौडेलले बताएका छन् । ‘हामी यसपटक उत्कृष्ट नतिजा निकाल्छौँ,’ क्यानसँग मंगलबार कुराकानी गर्दै रोहितले भने, ‘लगातार दोस्रोपटक विश्वकप खेल्न गइरहेका छौँ । अवश्य पनि नेपालको ऐतिहासिक प्रदर्शन हुनेछ ।’ नेपालका मुख्य प्रशिक्षक स्टुवार्ट लले घोषणा गरेको नेपाली टोलीमा सबैभन्दा सिनियर खेलाडी सोमपाल कामी हुन् । उनको यो तेस्रो विश्वकप हो । नौजना खेलाडीले लगातार दोस्रोपटक विश्वकप खेल्दै छन् । कप्तान रोहितले नेपाली टोली सन्तुलित भएकाले बताए ।
‘योपटक म धेरै खुसी छु । नेपाली टोली एकदमै सन्तुलित देखिएको छ,’ उनले क्यानसँग भने, ‘कसैका लागि यो पहिलो विश्वकप हो भने कसैका लागि यो तेस्रो विश्वकप हो । त्यसैले तयारी निकै राम्रो भएको छ ।’ उनले यसपटक विश्वकपमा छनोटसँगै सबैबाट नेपाली टोलीसँग धेरै अपेक्षा राखेको बताए । ‘सन् २०२६ को विश्वकपमा हामी मैदानमा आफ्नो शतप्रतिशतभन्दा बढी योगदान दिनेछौँ,’ उनले भने । नेपालले २५ माघमा पूर्वविजेता इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
क्यानडा र युएईसँग थप अभ्यास खेल
आइसिसीले विश्वकपअगाडि सहभागी टोलीहरूलाई अन्तिम वार्मअप (अभ्यास खेल) प्रबन्ध मिलाएको छ । आइसिसीले वरीयताअनुसार अभ्यास खेलमा प्रतिद्वन्द्वी सार्वजनिक गरिसकेको छ । जसअनुसार नेपालले क्यानडा र युएईसँग विश्वकपअगाडि अभ्यास खेल खेल्नेछ । २० माघमा युएई र २२ माघमा नेपालको खेल क्यानडासँग रहेको छ । नेपालले दुवै खेल चेन्नईको प्रसिद्ध रंगशाला एम ए चिदाबरममा खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपाली टोली मुम्बई फर्किनेछ । मुख्य स्पर्धाअगाडि हुने अभ्यास खेलले खेलाडीलाई थप एक्स्पोजर प्राप्त हुने कप्तान रोहितको भनाइ छ । ‘टी–२० विश्वकपको तयारीका लागि वार्मअप खेल्नु छ । मेरो विचारमा यस किसिमको खेल विश्वकपअघि राम्रो अनुभव हुन सक्छ,’ उनले भने, ‘युवा खेलाडीका लागि यो भनेको एक्सपोजर प्राप्त गर्नु हो । यसकारण हामी सबैजना निकै उत्साहित छौँ ।’ रोहितले क्यानडा र युएईसँगको अभ्यास खेलले पहिलोपटक विश्वकप खेल्न लागेका खेलाडीलाई अनुभव प्राप्त गर्ने अवसरका रूपमा भएको बताए । ‘केही साथीहरू नयाँ छन् । जसका पहिलो विश्वकप हो । उनीहरूले अभ्यास खेलमा माथिल्लोस्तरको खेल अनुभव लिनेछन्,’ उनले भने ।
हार्भेको आगमनमा बलिङमा सुधार
मुख्य प्रशिक्षक स्टुवार्टले बलिङ प्रशिक्षणको जिम्मेवारी अस्ट्रेलियाकै पूर्वफास्टबलर इयान हार्भेलाई दिएका छन् । हार्भेको आगमनले पनि आफूहरूको बलिङ पक्षमा सुधार आउने विश्वास कप्तान रोहितले गरेका छन् । अहिले स्टुवार्ट र हार्भेले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । ‘उहाँसँग राम्रो अनुभव छ । बलिङ प्रशिक्षक हार्भेको अनुभवले गर्दा हामीले विश्वकपमा उत्कृष्ट क्रिकेट खेल्नेछौँ भन्ने मलाई लाग्छ,’ हार्भेको प्रशंसा गर्दै रोहितले भने । नेपालका बलिङ प्रशिक्षक हार्भेले सन् १९९७ देखि २००४ सम्म अस्ट्रेलियाको एकदिवसीय टोलीबाट प्रतिस्पर्धा
गरेका थिए । उनले ७३ एकदिवसीय खेलमा ८५ विकेट लिनुका साथै ७ सय १५ रन जोडेका थिए । टी–२० सिरिजमा उनले ५२ विकेट तथा पहिलो श्रेणीमा चार सय ४५ विकेट लिएका थिए ।
नेपाली टोली सन्तुलित : रोहित पौडेल, कप्तान, नेपाल
योपटक म धेरै खुसी छु । नेपाली टोली एकदमै सन्तुलित देखिएको छ । कसैका लागि यो पहिलो विश्वकप हो भने कसैका लागि यो तेस्रो विश्वकप हो । त्यसैले तयारी निकै राम्रो भएको छ । टी–२० विश्वकपको तयारीका लागि वार्मअप खेल्नु छ । मेरो विचारमा यस किसिमको खेल विश्वकपअघि राम्रो अनुभव हुन सक्छ । युवा खेलाडीका लागि यो भनेको एक्सपोजर प्राप्त गर्नु हो । यसकारण हामी सबैजना निकै उत्साहित छौँ । केही साथीहरू नयाँ छन् । जसका पहिलो विश्वकप हो । उनीहरूले अभ्यास खेलमा माथिल्लोस्तरको खेल अनुभव लिनेछन् ।