कञ्चनपुरमा जनसंख्या वृद्धिसँगै मतदाता संख्या पनि वृद्धि भइरहेको छ । ०६७ सालको तुलनामा ०७८ मा भएको जनसंख्या गणनाअनुरूप जिल्लामा मतदाता संख्या पनि वृद्धि भइरहेको हो । पछिल्लो जनगणनाअनुरूप १.३२ प्रतिशतका दरले कञ्चनपुरको जनसंख्या वृद्धि भइरहेको अवस्थामा ०६४ देखि ०८२ सम्म आइपुग्दा मतदाता संख्यामा समेत वृद्धि भइरहेको छ ।
पञ्चायी शासनकालको अन्त्यसँगै जनयुद्ध दोस्रो जनआन्दोलनपछि पहिलोपटक भएको संविधानसभा सदस्य निर्वाचनदेखि जेन–जी विद्रोहबाट मध्यावधि भएको निर्वाचनसम्म आइपुग्दा मतदातासंख्यासमेत नियमित वृद्धि भइरहेको हो । कञ्चनपुरमा १८ वर्षमा निरन्तर मतदाता संख्यासमेत वृद्धि भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर एव उतिवेला विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको तथ्यांकअनुसार ०६४ सालमा ९७ हजार ४४२ महिला र ८६ हजार ८७७ पुरुष गरेर कुल एक लाख ८४ हजार ३१९ मतदाता थिए । उतिवेला १० हजार ५२ महिला बढी मतदाता रहेका थिए । उतिवेला ९८ हजार ७३९ मतदानमा सहभागी भएका थिए भने ८५ हजार ५८० मतदानमा सहभागी भएनन् । ०७० मा ९४ हजार ९२३ महिला र ८८ हजार १४६ पुरुष गरेर एक लाख ८३ हजार ६९ मतदाता रहेका थिए । जसमध्ये ६ हजार ७७७ बढी महिला मतदाता थिए ।
त्यतिवेला एक लाख ५२ हजार नौ मतदाताले मतदान गरे भने ३१ हजार ७० मतदानमा सहभागी भएनन् । ०७४ सालमा एक लाख ३६ हजार ४५१ महिला र एक लाख २८ हजार ५२३ पुरुषसहित जम्मा दुई लाख ६४ हजार ९७५ मतदाता थिए । पुरुषभन्दा सात हजार ९२८ बढी महिला मतदाता रहेका थिए । एक लाख ८३ हजार ६६८ मतदानमा सहभागी थिए । ८१ हजार ३०७ ले मतदान नै गरेनन् ।
०७९ सालमा तीन लाख दुई हजार ५०९ थिए जसमध्ये एकजना तेस्रो लिंगीसहित एक लाख ४६ हजार ८४६ पुरुष र एक लाख ५५ हजार ६६२ महिला मतदाता रहेका छन् । ०७९ मा आठ हजार ८१६ महिला बढी मतदाता रहेका थिए । एक लाख ८६ हजार ३२२ ले मतदान गरे भने एक लाख १६ हजार १८७ मतदाताले मतदान गरेनन् ।
०८२ मा आइपुग्दा तीन लाख १४ हजार ३८५ पुगेको छ । एक तेस्रोलिंगीसहित एक लाख ६० हजार ३१६ महिला र एक लाख ५४ हजार ६८ पुरुष रहेका छन् । अहिले ६ हजार दुई सय ४८ महिला मतदाता बढी रहेका छन् ।