हिमालयको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्दै पूर्वाञ्चल विश्वविद्यालय

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

पूर्वाञ्चल विश्वविद्यालयले हिमालय क्षेत्रको रक्षाका लागि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

मोरङ सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिमालय क्षेत्रको सुरक्षाका लागि दिगो विकासबारे माघ २९ देखि फागुन १ सम्म दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो।

सम्मेलनमा नेपाल, भारत, नर्वे, युके, थाइल्यान्ड, साउदी अरेबिया, बंगलादेश, अमेरिकासहित १२ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी तीन सय बढी प्रतिनिधिको सहभागिता रहने आयोजक समिति संयोजक प्राडा भोलानाथ शर्मा घिमिरेले जानकारी दिए।

संयोजक शर्माका अनुसार सम्मेलनको मुख्य उद्देश्य पूर्वाञ्चल विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै हिमालय क्षेत्रको दिगो भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनु हो। सम्मेलनमा करिब १५० अनुसन्धानकर्ताले प्रत्यक्ष सहभागितामार्फत विभिन्न तरिकाबाट आफ्ना अनुसन्धानहरञ  प्रस्तुत गर्नेछन्।

सम्मेलनमा हिमालय क्षेत्रको भविष्य, दिगो विकासका नीति, जलवायु परिवर्तन र त्यसले पारेको प्रभाव तथा क्षेत्रीय आवश्यकता र समाधानका उपायमाथि गहन छलफल हुनेछन्। सम्मेलनबाट प्राप्त निष्कर्षले भविष्यमा अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न मार्गदर्शन गर्ने विश्वास विश्वविद्यालयले लिएको छ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको संरक्षकत्वमा १३ सदस्यीय सम्मेलन आयोजना समिति गठन गरिएको सम्मेलनका अध्यक्ष प्राडा भोलानाथ शर्मा घिमिरेले जानकारी दिए।
 

सुझावित समाचार