रास्वपा क्षेत्रीय उपसभापति उज्यालो नेपाल पार्टीमा प्रवेश

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

बारा निर्वाचन क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का क्षेत्रीय उपसभापति रोशनकुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। आइतबार आयोजित एक कार्यक्रमबिच उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले रास्वपा जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित हुँदै गएको दाबी गर्दै जनताको वास्तविक समस्या र मुद्दा उठाउन असफल भएको बताए।

अधिकारीले उज्यालो नेपाल पार्टी भने जनतामाझ बसेर, जनतासँगै काम गर्दै अघि बढिरहेको पार्टी भएको उल्लेख गरे। उनले यही पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने पार्टी भएको बताए। देश परिवर्तनका लागि इमानदार, निष्ठावान् र कर्मशील व्यक्तिहरूको सहभागिता अपरिहार्य रहेको भन्दै अधिकारीको पार्टी प्रवेशले संगठन थप सशक्त बन्ने विश्वास व्यक्त गरे।

पार्टीमा स्वागत गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व, निष्ठा र कर्ममा विश्वास गर्ने राजनीतिक शक्ति भएको बताए। उनले देश परिवर्तन भाषणले मात्र सम्भव नहुने भन्दै इमानदार सोच, व्यावहारिक योजना र निरन्तर कर्म आवश्यक रहेको धारणा राखे।

घिसिङले अधिकारीको पार्टी प्रवेशले बारा क्षेत्र नम्बर ३ मा संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। साथै, राजनीतिक परिवर्तनका लागि पुराना गलत अभ्यास त्याग्दै नयाँ संस्कृतिको विकास आवश्यक रहेको भन्दै उज्यालो नेपाल पार्टी त्यसै दिशामा अघि बढिरहेको बताए।
 

सुझावित समाचार