राष्ट्रिय सभा सदस्यमा कोशीबाट एमालेका सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। आइतबार विराटनगरमा सम्पन्न निर्वाचनमा ‘दलित’ क्लस्टरबाट एमालेका पोर्तेल विजयी भएका हुन्। उनी एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाका हुन्।
७ हजार ४२३ मतसहित पोर्तेल विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका खेमराज सुन्दासले दुई हजार ३७ मत प्राप्त गरे।
निर्वाचन कार्यालयका अनुसार कोशी प्रदेश सभाअन्तर्गत ८७ सांसदहरुले मतदान गरेकोमा सूर्य चिन्हमा ६४ र तारा चिह्नमा २२ मत पर्यो। स्थानीय तहतर्फ सूर्य चिह्नमा १९९ र तारा चिह्नमा ५८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
कोशीमा रिक्त तीनजना राष्ट्रिय सभा सदस्यका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएको थियो। ‘अन्य’ क्लस्टरबाट कांग्रेसका सुनिलकुमार थापा मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित भइसकेका छन्।
‘महिला’ क्लस्टरबाट एमालेकै रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छिन्। मेचे पनि ओलीकै गृहजिल्लाकी हुन्।