श्री लालीगुराँस सहकारी ठगी प्रकरण : कागजी कम्पनी खडा गरेर सवा ६ अर्ब अपचलन

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण
  • सहकारीका सचिव जोडिएका १० कम्पनीमै पौने दुई अर्ब ऋण प्रवाह, अस्तित्वमा नरहेका ३० कम्पनीविरुद्ध अनुसन्धान गर्न सिआइबीमा सिफारिस 

ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस सहकारीका सञ्चालकले कागजी कम्पनीसमेत खडा गरेर २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड डुबाएको पाइएको छ । विभिन्न ३० कम्पनीका नाममा सहकारीबाट झन्डै तीन अर्ब रुपैयाँबराबरको ऋण प्रवाह गरिएको छ, जसमध्ये केही अस्तित्वमै छैनन् भने केही कागजमै सीमित छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यसरी ऋण प्रवाह गरिएका कम्पनीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सिआइबी)लाई सिफारिस गरेको छ ।

४ चैत ०८० मा समस्याग्रस्त घोषित श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी हुन् । सहकारीको सचिवसमेत रहेका भण्डारी कांग्रेसको वित्तीय तथा सहकारी विभागका पूर्वसचिव पनि हुन् । त्यस्तै, सहकारीको उपाध्यक्ष हजुरी विष्ट, कोषाध्यक्ष अमृतकुमार अर्याल तथा सञ्चालक समिति सदस्यमा कदम जोशी र भोलाकुमार श्रेष्ठ छन् । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमले लालीगुराँसबाट ऋण प्रवाह गरिएका ३० कम्पनीविरुद्ध अनुसन्धान गर्न सिआइबीलाई सिफारिस गरिएको बताए । ‘३० कम्पनीको नाममा ठुलो परिमाणमा ऋण प्रवाह भएको देखिन्छ । तीमध्ये कतिपय कम्पनी सञ्चालनमै छैनन् । कागजमा सीमित कम्पनी पनि छन् । हिसाबकिताब नै शंकास्पद देखिएपछि अनुसन्धान गर्न सिआइबीलाई सिफारिस गरेर पठाएका छौँ,’ उनले भने । 

ऋण प्रवाह गरिएका १० कम्पनीमा सहकारीका सचिव भण्डारी प्रत्यक्ष जोडिएका छन् । उनीसहितको टोलीले कम्पनी दर्ता गराएर सहकारीबाट ऋण लिएका थिए । यसरी १० कम्पनीका नाममा मात्रै एक अर्ब ७१ करोड ६० लाख २१ हजार २३५ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । जबकि, दुई कम्पनी मात्रै फिल्डमा देखिन्छन् । तर, ती पनि सञ्चालनमा छैनन् । बाँकी आठ कम्पनीमध्ये कतिपय अस्तित्वमै छैनन्, कतिपयका कागजातसमेत भेटिएका छैनन् । 

समितिबाट प्राप्त विवरणअनुसार कार्यकारी अधिकृत भण्डारीसहितको टोलीले सिन्धुपाल्चोकमा भैरवकुण्ड हाइड्रोपावर कम्पनी खडा गरेका थिए । त्यसका लागि सहकारीबाट २९ करोड ३७ लाख ६५ हजार ९७ रुपैयाँ ऋण लिएका थिए । यो कम्पनीको फिल्डमा कार्यालय त छ, तर सञ्चालनमा छैन । त्यस्तै, अभिनय इन्भेस्टमेन्ट ट्रेनिङ कम्पनीका नाममा २६ करोड १९ लाख ९३ हजार १५० रुपैयाँ ऋण प्रवाह भएको छ । यसको पनि कार्यालय छ, तर सञ्चालनमा छैन ।

भण्डारीसहितको टोलीले ललितपुरमा लालीगुराँस जनस्वास्थ्य सहकारी लिमिटेड खडा गरेको थियो । त्यसका नाममा पनि ३३ करोड ७० लाख ९५ हजार २७६ रुपैयाँ ऋण लिएको थियो । यो कम्पनी पनि दर्ता देखिन्छ, तर अस्तित्वमा छैन । यही टोलीले नै स्थापना गरेको लालीगुराँस प्रोफेसनल लर्निङ सेन्टरका नाममा सहकारीबाट चार करोड ४४ लाख ७२ हजार ७४२ रुपैयाँ, स्वागत इन्भेस्टमेन्ट टे«निङ कम्पनीको नाममा १२ करोड ८१ लाख १३ हजार ८४४ र पेज टु प्रिन्ट मिडियाका नाममा १७ करोड ९२ लाख पाँच हजार ५६५ रुपैयाँ ऋण प्रवाह भएको छ । तर, अध्ययन गरिरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले न अहिलेसम्म यी तीनवटै कम्पनीको कार्यालय भटेको छ न कुनै कागजातसमेत फेला पार्न सकेको छ ।

त्यसबाहेक पनि उनीहरूले सहकारीबाट लालीगुराँस हस्पिटलका नाममा १२ करोड ७४ लाख ४७ हजार ७५७, लालीगुराँस एजुकेसन फाउन्डेसनका नाममा १८ करोड चार लाख ६३ हजार ४११, लालीगुराँस डेरी फर्मको नाममा दुई करोड १३ लाख २५ हजार २२३, एग्रिकल्चर प्रोजेक्ट प्रोडक्टका नाममा १४ करोड २१ लाख ३९ हजार १७० रुपैयाँ ऋण लगेको देखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यी चारवटै कम्पनीको पनि कार्यालयसमेत भेटेको छैन । ऋणका लागि मात्रै कम्पनी खडा गरिएको समितिको निष्कर्ष छ । 
भण्डारीसहितको टोलीले स्थापना गरेर ऋण प्रवाह गरेका भैरव कुण्ड र अभिनय इन्भेस्टमेन्टबाहेकका अन्य आठ कम्पनीमा मात्रै एक अर्ब १६ करोड दुई लाख ६२ हजार ९८८ रुपैयाँ ऋण प्रवाह भएको समितिले जनाएको छ । 

भण्डारी जोडिएका १० बाहेकका ३० कम्पनीमा पनि सहकारीबाट ऋण प्रवाह भएको पाइएको छ । जसमा अग्नि एयर, सुजस कन्स्ट्रक्सन, हेलम्बु कन्स्ट्रक्सन, एसटी शेर्पा उद्योग, असिन रियल स्टेट, फूलबारी मिनी मार्केट, मुगल गार्डेन रेस्टुरेन्ट, बज्र एकेडेमीलगायतका कम्पनी छन् । यी ३० कम्पनीमा करिब एक अर्ब ऋण प्रवाह भएको छ । समितिले यी कम्पनीहरूमाथि पनि अनुसन्धान गर्न सिआइबीलाई सिफारिस गरेको छ ।

सिआइबी प्रमुख डा. मनोज केसीले अनुसन्धानका सम्बन्धमा प्रस्ट खुलाउन चाहेनन् । ‘समितिबाट अनुसन्धानका लागि भन्दै सिफारिसहरू आइरहन्छन् । कतिपय सम्बन्धित जिल्लास्थित प्रहरी कार्यालयलाई अनुसन्धान गर्न पठाउँछौँ । जटिल प्रकृतिको छ भने हामी आफैँ अनुसन्धान गर्छौँ,’ उनले भने, ‘श्री लालीगुराँसको सम्बन्धमा पनि त्यही भएको होला ।’

सहकारीका सचिवसमेत रहेका कार्यकारी अधिकृत भण्डारीले रकम अपचलन र मुद्दामामिलाबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘श्री लालीगुराँस अहिले समस्याग्रस्त सहकारी समितिले चलाएको छ । समितिको अध्यक्ष श्रीमण गौतम हुन् । उनलाई सोध्नुहोस् । म अहिले सहकारीको सिइओ होइन ।’ कागजी कम्पनी खडा गरेर सहकारीको रकम हिनामिना गरेको विषयमा पनि भण्डारी पन्छिन खोजे । उल्टै प्रश्न गरे, ‘तपाईंसँग कसैले कम्पनी कागजी भनेको कुनै लिखित प्रमाण छ ? यस विषयमा म अहिले कुरा गर्न आवश्यक ठान्दिनँ,’ उनको भनाइ छ । 

झन्डै डेढ वर्षअघि अदालत पुगेको थियो मुद्दा
पुल्चोकमा कार्यालय रहेको लालीगुराँस सहकारीले करिब २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड डुबाएको छ । बचत रकम डुबेपछि ललितपुर महानगरपालिका– ४, पुल्चोकका ६५ वर्षीय महेश थापाले सञ्चालकहरूविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सहकारीका अमरदास श्रेष्ठ, सचिव तथा कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक समिति सदस्य कदम जोशी पक्राउ परेका थिए । तर, जिल्ला अदालत ललितपुरमा धरौटी पेस गरेका उनीहरू हिरासतमुक्त भएका छन् भने मुद्दा अदालतमा विचाराधीन छ । 

घटनाको अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत ललितपुरमा ८ साउन ०८१ मा सहकारीका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरेको थियो । अदालतमा पेस गरिएको अभियोगपत्रमा भण्डारीले सहकारीको रकमले पर्सा, ललितपुर, सिन्धुपाल्चोकलगायत ठाउँमा कम्पनी खडा गरेर लगानी गरेको स्वीकार गरेका छन् । उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘सहकारीमा रकम जम्मा गर्ने करिब २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोडबराबरको रकम छ । बचतकर्ताहरूको रकमबाट पर्सामा गाई फर्म, ललितपुरको गोदावरीमा दुग्ध प्रोसेसिङ सेन्टर, सिन्धुपाल्चोकको भैरवकुण्डमा हाइड्रोपावर, ललितपुरको ताल्सीखेलमा लालीगुराँस अस्पताल तथा विभिन्न परियोजनाहरूमा लगानी गरेको छ ।’

अदालतमा पेस भएको अभियोगपत्रमा सहकारीका सञ्चालकहरूले विभिन्न संस्थामा झुटो ऋण लगानी गरेको देखाई सहकारीको खाताबाट रकम निकाली व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको देखिएको उल्लेख छ । ‘संस्थामा झुटो ऋण लगानी गरेको देखाई प्रतिवादीहरूको मिलोमतोमा संस्थाका पदाधिकारी, सेयर सदस्यहरू, आफन्त तथा परिवार, सहकारीका कर्मचारीलगायतका नाममा ऋण लिएको देखाई उक्त रकम संस्थाबाट निकाली पर्याप्त धितो संरक्षणविना कतिपय अवस्थामा धितो सुरक्षणबेगर नै ऋणको बहानामा संस्थाको खाताबाट रकम निकाली व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्ने जाहेरी दरखास्तको व्यहोरा पुष्टि हुन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

जिल्ला अदालत ललितपुरका अनुसार श्री लालीगुराँसको मुद्दा अहिले अदालतमा विचाराधीन छ । अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले भने, ‘भण्डारी जोडिएको श्री लालीगुराँस सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।’

सुझावित समाचार