पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूले मन्त्रीको रूपमा सम्पूर्ण जिम्मेवारी पूरा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको स्पष्टीकरण दिएका छन्। चुनावी सरकारको मन्त्री खाएर हाल आफैँ चुनाव लड्न आएको सन्दर्भमा भएको आलोचनामा उनले प्रस्टीकरण दिएका हुन्। चुनावको सुनिश्चितता गरेर आफूले चुनावी मैदानमा आएको उनको भनाइ छ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले प्रश्न गरे, ‘म त पाएको मन्त्री पद, झन्डा, भएको गाडी, सुरक्षाकर्मी सारा कुरा छाडेर म आज जनतासँग, सडकमा तपाईंहरूसँग आइरहेको छु, म कसरी अवसरवादी भएँ ?’
मन्त्री हुँदा प्रमुख दलका नेताहरूसँग बारम्बार बैठक बसेर चुनावी वातावरण बनाउन आफ्नो महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। ‘चुनाव गराउनुपर्थ्याे जगदीशले चुनाव गराउँदा–गराउँदै यहाँ आयो भन्ने छ, यो पनि म जवाफ दिन्छु, यदि जगदीश खरेल नभएको भए, यदि जगदीश खरेलले राजनीतिक दलहरू, कांग्रेस, एमाले, माओवादी, शीर्ष नेता, सर्वपक्षीय सर्वदलीय बैठकमा गरेँ होला र आज चुनाव सुनिश्चित भयो होला ?’
आफूले इमानदारिताका साथ जिम्मेवारी पूरा गरेर चुनावी मैदानमा आएको खरेलको भनाइ छ। उनी ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्।