प्राध्यापन छोडेर चुनावी मैदानमा चन्द

शनिबार, ११ माघ, २०८२
डिजिटल संस्करण

गत पुस अन्तिम सातासम्म पाटन बहुमुखी क्याम्पस ललितपुरमा अध्यापन गराउँदै थिए सहायक प्राध्यापक आनन्दबहादुर चन्द । अहिले धनगढीमा मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन् । करिब साढे दुई दशकदेखि प्राध्यापन, अध्ययन तथा अनुसन्धान कार्यमा सक्रिय चन्द राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् ।

मनोनयन दर्ता गरेपछि जेन–जी आन्दोलनका सहीद धनगढीका गौरव जोशीका आमाबाट आर्शीवाद लिएर चुनावी अभियान सुरु गरेका चन्द अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । देश परिवर्तन गर्नुपर्छ भन्ने भावनाले प्राध्यापन छोडेर राजनीतिमा आएको उनी बताउँछन् । सुशासन, देशको प्रणालीमा परिवर्तन र विकासको मुद्दा लिएर आफू जनतासमक्ष पुगिरहेको उनले बताए ।

‘प्राध्यापनमा लागेर विद्यार्थी राम्रो बनाउन सकिन्छ, क्याम्पस राम्रो बनाउन सकिन्छ तर देशकै अवस्था सुधार्ने प्रमुख बाटो राजनीति हो’ चन्दले भने, ‘राजनीतिका माध्यमबाट केही राम्रो काम गरौँ, देश परिवर्तन गरौँ भन्ने भावनाले राजनीतिमा आएको हँु ।’ भ्रष्टाचार अन्त्य, सुशासन, देशको प्रणालीमा परिवर्तन र विकासलाई उनले आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

प्रणालीमा सुधार गरेर राम्रो संस्कार बसाउन सके देश विकास र सुशासन कायम हुने उनको बुझाइ छ । संस्कार बसाउन नसक्नु राजनीतिप्रति वितृष्णा बढ्नुको मुख्य कारण रहेको चन्दले बताए । ‘झुटा आश्वासन दिनेभन्दा पनि हामी के गर्छौँ, हाम्रो पार्टीको सरकार बनेपछि मन्त्रिपरिषद्ले के निर्णय गर्छ भनेर घोषणापत्रसहित आउँदैछौँ’ उनले भने । आफू र आफ्नो पार्टीले अघि सारेको एजेण्डा, रास्वपाप्रति जनताले गरेको भरोसानै आफ्नो जितको आधार भएको चन्दको भनाइ छ ।

‘देशभरिनै अहिले परिवर्तनको आवाज उठेको छ र परिवर्तनको नेतृत्व रास्वपाले गर्छ’ उनले भने, ‘रास्वपामा भिजन भएका मान्छे आइरहेका छन् । हामी देशको ‘थिङ्क ट्याङ्क’ बन्न सक्छौँ भन्ने लागेको छ ।’ हाल काठमाडौँमा बस्दै आएका चन्दको घर धनगढी उपमहानगरपालिका–८, छ ।  

त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर गरेका चन्दले अमेरिकाको नर्थ क्यारोलिना एग्रीकल्चर एन्ड टेक्निकल युनिभर्सिटीको सहकार्यमा त्रिभुवन विश्वविद्यालयबाट हालै पीएचडीको थेसिस पुरा गरेका छन् । सन् २०१२ मा अमेरिकाकै जोन हकिङ्स विश्वविद्यालयबाट ग्लोबल लिडरसिप टे«निङ कोर्स, त्यसपछि इन्टरनेशनल म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम संस्थाबाट प्रोजेक्ट म्यानेजमेन्ट, म्यानेजमेन्ट लिडरसिप, बजेट एण्ड फाइनान्सीयल म्यानेजमेन्ट, ह्यूमन रिसर्च म्यानेजमेन्टजस्ता कोर्स तथा प्यारिसको आइएमटी विजनेश स्कूलबाट डिजिटल इनोभेसन कोर्ष आफूले पूरा गरेको उनले बताए । 

प्रमुख दलबाट को को छन् प्रतिस्पर्धी ?

क्षेत्र नम्बर ५ अन्तर्गत सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका १९ वटै वडा र कैलाली गाउँपालिका वडा नम्बर ६ र नौ पर्छन् । यो काँग्रेसको बलियो प्रभाव भएको क्षेत्र हो । काँग्रेसले यहाँ पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह मनुलाई उम्मेदवार बनाएको छ । काँग्रेस कैलालीका पूर्वसभापति शाह लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि अवसर नपाएका नेता हुन् ।

त्यस्तै एमालेबाट प्रभावशाली युवा नेता यज्ञराज ढुङ्गाना चुनावी प्रतिस्पर्धामा छन् । विद्यार्थी राजनीतिबाट उदाएका नेता ढुङ्गाना एमाले कैलालीका अध्यक्षसमेत हुन् । पछिल्ला तीनवटा संसदीय चुनावमा डोटीबाट ‘ह्याट्रिक’ गरेका प्रेमबहादुर आले यसपटक कैलाली ५ मा नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिस्पर्धा गर्दै छन् । रास्वपाकै नेता इश्वरी बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न दल र स्वतन्त्र गरी १५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

 २०७४ को निर्वाचनमा तत्कालीन माओवादी र एमालेसहित बाम गठबन्धनका नारदमुनि रानाले काँग्रेस नेतृ आरजु राणालाई हराएर चुनाव जितेका थिए । गत चुनावमा भने राना काँग्रेसका डिल्लीराज पन्तसँग पराजित भए । पन्त २१ हजार ३०२ मत पाएर विजयी हुँदा रानाले २० हजार ३१८ मत पाएका थिए । त्यसबेला रास्वपाका उम्मेदवार रहेका इश्वरी बिष्टले तीन हजार ४०४ मत ल्याएका थिए ।

यो क्षेत्रमा मतदाता संख्या एक लाख १० हजार छ सय रहेको छ । यो चुनावमा काँग्रेस आफ्नो विरासत जोगाउन र एमाले विरासत फर्काउने प्रयासमा छन् । यहाँ काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

सुझावित समाचार