सिन्धुपाल्चोक १ मा चारपक्षीय र २ मा त्रिपक्षीय भिडन्तको सम्भावना

शनिबार, ११ माघ, २०८२
डिजिटल संस्करण

चुनावको प्रारम्भिक अवस्थालाई हेर्दा प्रतिनिधिसभा–१ मा कांग्रेस , एमाले , नेकपा र रास्वपाबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ।प्रतिनिधिसभा–२ मा पुरानै पार्टीहरु कांग्रेस , एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने अवस्था छ । पुराना, नयाँ  र स्वतन्त्र गरि १ मा १८ र २ मा पनि १८ उम्मेदवार चुनावी मैदानमा छन् । १ मा कांग्रेसबाट जिल्ला सभापति जंगबहादुर लामा, एमालेबाट सरेश नेपाल, नेकपाबाट केन्द्रीय सदस्य माधव सापकोटा सुवोध र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाइड्रोपावर व्यवसायी भरतप्रसाद पराजुली  मैदानमा छन् । मुख्यतः यिनै चारबीच  भिडन्तको अनुमान गरिएको छ ।

क्षेत्र नं.२ मा कांग्रेसबाट इन्द्रावती गाउँपालिका पूर्वअध्यक्ष बंशलाल तामाङ, एमालेबाट केन्द्रीय सदस्य शेरबहादर तामाङ र नेकपाबाट वागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल शरद चुनावी  मैदानमा मुख्य प्रतिस्पर्धी हुन् । रास्वपा उम्मेदवार झलककुमार श्रेष्ठ अजयले चुनावी क्षेत्र छोडेर २ मा प्रतिस्पर्धा गर्दैछन् । तर, रास्वपाको संगठन मजवुत नभएको र भएका कमिटी पनि उम्मेदवारी चयनमा असन्तुष्ट रहेकोले कहिँ राजीनामा त कहिँ निष्क्रिय भएका छन् । रास्वपाभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्जिनियर गोपीकृष्ण चौलागाइँ अगाडि हुने अनुमान गरिएको छ  । निर्वाचन क्षेत्र १ मा एक लाख  ३६ हजार नौसय ८५ मतदाता छन् भने २ मा एक लाख ३८ हजार तेह्र मतदाता रहेका छन् ।

क्षेत्र नं. १ मा नेकपा उम्मेदवार सापकोटा दोस्रो जित निकाल्ने दाउमा छन् । ०७९ मा उनले ३० हजार  तीनसय ७४ मत ल्याएर जित हाँसिल गरेका थिए । त्यसबेला काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । एक्लै चुनाव लडेको एमालेका सरेश नेपालले २७ हजार १८ मत ल्याएर उपविजेता भएका थिए । काँग्रेस उम्मेदवार तामाङ पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

उनीसभापति  गगन थापानिकट जिल्ला सभापति हुन्। देउवा खेमाका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसपटक टिकट पाएनन् । हालका उम्मेदवार र बस्नेतबीच राजनीतिक तिक्तता छ। रास्वपा उम्मेदवार पराजुली जलविद्युत व्यवसायी हुन्। जिल्लाको उत्तरी भागमा उनको आफ्नै हाइड्रोपावर कम्पनी छ । विद्युत कम्पनी निर्माण र परिचालन सिलसिलामा स्थानीयको माग पूरा नगरेको आरोप उनलाई लाग्ने गर्छ । यद्यपि , रास्वपाको ग्राफ बढ्दो क्रममा छ ।

०७४ मा एमालेसँग र ०७९ मा कांग्रेससँग गठबन्धन गरेर जित निकालेको हालको नेकपा संगठनको हिसावले दुई ठूला दल कांग्रेस  र एमालेको हैसियत बराबरमा छ। चार स्थानीय सरकार छ । यद्यपि , वडास्तरमा पर्याप्त  जित निकाल्न सकेन । ३३ महिना सांसद रहँदा सापकोटाले सदनमा जिल्लाको धेरै विषय उठान गरे । यसप्रति मतदाता खुसी छन् । तातोपानी नाका खुलाउन, बाढीपहिरोले भत्केका सडक र पुल निर्माणमा सरकारसँग जोडतोडले माग र पहल गरेका थिए।

कांग्रेस जिल्ला सभापति तामाङलाई कांग्रेसबाटै घात हुने सम्भावना छ। त्यसैले उनी यसप्रति सचेत छन् । देउवा पक्षधर काँग्रेसको बाहुल्यता रहेको यो क्षेत्रमा मोहन बस्नेत निर्णायक पात्र हुन् । उनले सबै शक्ति आफ्नो उम्मेदवारमा प्रयोग गरे भने तामाङ बलियो उम्मेदवार हुन् । तर, प्रारम्भिक अवस्था उनका लागि सन्तोषजनक छैन । एमालेको संगठन मजबुत रहेको छ ।

उपविजेतामा चित्त बुझाएका नेपाल यसपटक बदला लिने दाउमा छन् । कांग्रेसको देउवा पक्षसँग हिमचिम बढाएका छन् ।  तर, पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्न उनलाई धौधौ परेको छ । उम्मेदवार चयनमै ठेस लागेकोले नेपाल पार्टी पंक्ति मिलाउन समय दिइरहेका छन् । उता बाह्रबिसे नगरपालिका पूर्वमेयर निम्फुञ्जो शेर्पाले चुनावको मुखमै एमाले परित्याग गरेको घोषणा गरेका छन् । एमालेमा शेर्पा शक्तिशाली थिए । उनको अभावमा एमालेले क्षति व्यहोर्नुपर्ने अवस्था छ । पार्टी केन्द्रले युवा व्यवसायी आङ्दोर्जे शेर्पालाई टिकट दिएको थियो ।

दुई दिनपछि  फेरि जिल्ला पार्टी अध्यक्ष होमनारायण श्रेष्ठलाई टिकट दियो । अन्तमा, नेपालले उम्मेदवारी दर्ता गराए । अहिले उनी पार्टीपंक्ति मिलाउने र काँग्रेससँग मत लिने रणनीतिमा छन् । नेकपाका सापकोटा असन्तुष्ट एमाले  र देउवा काँग्रेससँग मत लिने रणनीतिमा छन्। कांग्रेस उम्मेदवार तामाङ पार्टीको मत संरक्षण गर्ने रणनीति बुन्दैछन् । रास्वपा उम्मेदवार पराजुली मुख्यतः एमाले, कांग्रेसका असन्तुष्ट र युवा शक्तिलाई समेट्ने प्रयासमा छन्।

यता क्षेत्र नं. २ मा एमाले नेता शेरबहादुर तामाङबाहेक अरु उम्मेदवार प्रतिनिधिसभाका नयाँ उम्मेदवार हुन्। तामाङले ०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका थिए। ०७९ मा कांग्रेस नेता मोहनबादुर बस्नेतसँग हार व्यहोर्नुपरेको थियो। बस्नेतले ३९ हजार तीन सय ६७ मत ल्याउँदा तामाङले २७ हजार दुई सय ४१ मत ल्याएका थिए।

०६४ को संविधानसभामा पनि उनले हार व्यहोरेका थिए। दुई हार दुई जित निकालेका तामाङ यसपटक पुनः जित्ने दाउमा छन । कांग्रेस नेता बंशलाल अमेरिकाको बसाइँ छोडेर ०७४ मा स्वदेश फर्कनासाथ स्थानीय चुनावमा सहभागी भएका थिए। उनले इन्द्रावती गाउँपालिका अध्यक्षमा जित निकाले । त्यसयता सभापति गगन थापासँग निकट रहेर काम गरिरहेका छन् । यो क्षेत्रमा देउवा काँग्रेस कमजोर छ। तामाङ  बाहुल्य यस क्षेत्रमा एमाले, काँग्रेस  र उज्यालो नेपाल पार्टीको उम्मेदवार रामसिङ तामाङसहित तीन उम्मेदवार तामाङ समुदायबाट छन्। नेकपा उम्मेदवार युवराज दुलाल यस क्षेत्रमा बढी रुचाइएका पात्र हुन्।

प्रतिनिधिसभा २ को क प्रदेशमा दुईपटक जित निकालेका दुलालले वागमती प्रदेशको सामाजिक विकासमन्त्री र पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी निभाइसकेका छन् ।स्वास्थ्य,पूर्वाधार  र विपत्तिमा देखिनेगरी काम गरेकोले मतदातामा उनको  स्थान बलियो छ। संगठनको हिसाबले काँग्रेस , एमालेभन्दा केही कमजोर देखिएता पनि काम गर्ने शैली र युवा भएकोले दुलालको अवस्था बलियो छ। यहाँ  तीन पुराना दल कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

सुझावित समाचार