माघ १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १० माघ, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको माघ १० गते शनिबारदेखि माघ १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसिक संवेदनशीलता बढ्नेछ । अनावश्यक खर्चतर्फ ध्यान जान सक्छ । गोप्य शत्रु वा अफवाहबाट सावधान रहनुपर्नेछ । ध्यान, साधना तथा धार्मिक कार्यले लाभ पुर्याउनेछ । मित्रता र सामाजिक सम्बन्ध सुदृढ हुने समय रहेको छ । सहकार्यबाट फाइदा मिल्नेछ भने प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । आम्दानीका नयाँ सम्भावनाबारे सोच विकसित हुने महत्वपूर्ण साता रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाग्यले साथ दिने साता रहेको छ । धार्मिक, शैक्षिक तथा यात्रासम्बन्धी कार्य सफल रहनेछ । गुरुजन वा वरिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । बिहीबारदेखि स्वास्थ्य र खर्चमा सतर्क रहनुपर्ने देखिन्छ । जोखिमपूर्ण निर्णय टार्नु उचित हुन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावनासमेत छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ, जसबाट यश प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा दाम्पत्य तथा साझेदारी सम्बन्धमा भावनात्मक उतारचढाव रहन सक्छ । स्पष्ट संवाद आवश्यक देखिन्छ । सहयोग र समझदारीले सम्बन्ध मजबुत बन्नेछ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । बुधबारदेखि प्रशस्त धनआर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सफलता मिल्ने संकेत देखिएको छ । सेवा र परोपकारबाट मानसिक सन्तुष्टि प्राप्त हुनेछ । स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खानपानको असावधानीले स्वास्थ्यसमेत कमजोर बन्ने देखिन्छ । साताको अन्त्यमा नयाँ सवारीसाधन प्राप्तिको योग छ । मित्रता र प्रेमको बन्धन कसिने वेला छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको सहयोगले महत्वपूर्ण काम बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । सन्तानप्राप्तिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । पारिवारिक माहोलमा भेला भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ–लेखाइमा प्रतिस्पर्धीभन्दा निकै नै अगाडि बढी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । साताको अन्त्यमा सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताको प्रारम्भ राम्रो रहेकाले चुनौतीलाई किनारा लगाउँदै काम बनाउन सकिनेछ । व्यवसाय, उद्योग तथा सेयरबजारमा सुझबुझका साथ लगानी गरी आम्दानी बढाउन सकिनेछ । कार्यक्षेत्रमा सफलता मिल्ने देखिएको छ । सेवा र परोपकारबाट मानसिक सन्तुष्टि प्राप्त हुनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक देखिन्छ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक वा सामाजिक कामले अवश्यै प्रतिष्ठा दिलाउला । कामको दायित्व पनि थपिएला । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति, नोकरीमा पनि पूर्वार्धको समय लाभकारी होला । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने खर्चमा वृद्धि र व्यवसायमा गिरावट आउने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय उन्नतिकारक छ । विद्या, बुद्धि बढ्नेछ । बौद्धिक तथा व्यावसायिक पक्षबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जालान् । मुद्दासमेत किनारा लाग्नेछन् । काममा अवश्य पनि उत्साह थपिनेछ । मित्रताको गाँठो कसिएर जाला । नयाँ प्रेमसम्बन्ध स्थापित हुन सक्छ । तर, सप्ताहान्तमा भने पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउला, सचेत हुनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । बुधबारको समय भने घरपरिवारका विषयमा चासो बढ्नेछ । भावनात्मक निर्णय गर्दा सचेत रहनुपर्नेछ । घरायसी काममा व्यस्त रहन सकिनेछ । कर्मयोगका थप बाटाहरू अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् । प्रतिस्पर्धीलाई उछिन्ने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खर्च बढ्ला । प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । पारिवारिक जमघट सम्भावित छ । सहयोगीहरू जुट्नेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम पनि बढेर जाला । आम्दानी पनि बढ्नेछ । तर, सप्ताहान्तमा आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने सम्भावना छ । सानो गल्तीले धोका हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सुरुमा प्रशस्त आम्दानीको योग भए तापनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर गए तापनि तपाईंका वैदेशिक कामहरू अवश्यै बन्नेछन् । आइतबारपछि प्रियजनसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । साताको अन्त्यमा प्रशंसकहरू थपिएर जालान् । काममा पनि उत्साह थपिनेछ । टाढाको यात्रा निकै फलदायी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरपरिवारका विषयमा चासो बढ्नेछ । भावनात्मक निर्णय गर्दा सचेत रहनुहोस । घरायसी काममा व्यस्तता रहनुपर्ने योग रहेको छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । यात्रामा विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । भविष्यका लागि लगानी गर्ने समय रहेको छ ।

See More On

सुझावित समाचार