आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर तीन हजार ४०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार उम्मेदवारमध्ये पुरुषको संख्या अत्यधिक देखिएको छ भने महिला सहभागिता सीमित रहेको छ।
दर्ता भएका उम्मेदवारमध्ये तीन हजार १७ जना पुरुष र ३८८ जना महिला रहेका छन्। उमेरगत विवरणले हेर्दा ४१ देखि ६० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै छन्। यस समूहमा एक हजार ९२५ जना छन्। त्यसपछि २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना र ६१ वर्षभन्दा माथिका ४२५ जना उम्मेदवार रहेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए। आयोगका अनुसार उम्मेदवारी दर्ता, जाँच र फिर्ता प्रक्रिया कुनै अवरोधविना शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
यससँगै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित भइसकेको छ। आयोगले माघ १० गतेसम्म दाबी–विरोध दर्ता गर्ने समय तोकेको छ। राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पुस १३ र १४ गते आयोगमा बुझाएका थिए।
दाबी–विरोधको समयावधि समाप्त भएपछि समानुपातिकतर्फको अन्तिम नामावली माघ १० गतेपछि सार्वजनिक गरिने आयोगले जनाएको छ।