६ महिनामै सातजनाले त्यागे नेपाली नागरिकता

कपिलवस्तुमा नागरिकता परित्यागको क्रम बढ्दो, भारत र अमेरिका प्रमुख गन्तव्य

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

कपिलवस्तुमा नेपाली नागरिकता त्याग्नेहरूको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको छ । चालू आर्थिक वर्ष ०८१/८२ को साउनदेखि पुस मसान्तसम्म मात्रै सातजनाले औपचारिक प्रक्रिया पूरा गरी नेपाली नागरिकता परित्याग गरेका छन्।  जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार नेपाल नागरिकता ऐन, २०६३ जारी भएयता ०८१ सालको साउनसम्म ४० जनाले नेपाली नागरिकता त्यागिसकेका छन्। तीमध्ये तीनजना भारतको नागरिकता लिन गएका हुन् भने बाँकी गैरआवासीय नेपाली (एनआरएन)  रहेको प्रशासनको अभिलेखमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘नेपाली नागरिकता त्याग्ने सबैले कानुनी प्रक्रिया पूरा गरेका छन्। वैवाहिक सम्बन्ध, व्यवसाय, रोजगारी, सम्पत्ति आर्जन र स्थायी बसोबासजस्ता कारणले नागरिकता परित्याग गर्ने प्रवृत्ति देखिएको छ,’ गौतमले भने।

भारत र अमेरिका प्रमुख कारण
जिल्ला प्रशासन कार्यालयका अनुसार ०७० साल कात्तिकदेखि नागरिकता त्यागको औपचारिक अभिलेख राख्न थालिएको बताएको छ ।  अभिलेखअनुसार भारतमा व्यवसाय सञ्चालन गर्न, विवाह गर्न, जमिन तथा घरजग्गा किन्न, रोजगारी गर्न, स्थायी बसोबास गर्न तथा निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यले नागरिकता त्याग गर्नेहरू धेरै छन् । 

भारतमा विवाह भएका छोरीसँग बस्न चाहने, मावलीबाट सम्पत्ति प्राप्त गरेका, भारतमै घरजग्गा भएकाले उतै बस्न चाहने कारणसमेत नागरिकता परित्यागका रूपमा देखिएका छन्।  यस्तै, अमेरिकी नागरिकता प्राप्त गर्न लाग्ने प्रक्रिया र कानुनी कारणले पनि केहीले नेपाली नागरिकता त्याग गरेका छन्। 

के भन्छ कानुनी व्यवस्था ?
नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता त्याग्न चाहने व्यक्तिले नामथर, नागरिकता प्रमाणपत्र नम्बर, जारी मिति र स्थान, हालको बसोबास, नेपालमा रहेको ठेगाना, नागरिकता त्याग्नुपर्ने कारण र परिवारका सदस्यहरूको विवरण खुलाएर निवेदन दिनुपर्ने व्यवस्था छ ।

नेपालभित्र रहेका नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा रहेका नागरिकले नेपाली राजदूतावास, नियोग प्रमुख वा वाणिज्यदूतसमक्ष सूचना दिनुपर्ने कानुनी प्रावधान छ । सूचना दर्ता भएको मितिदेखि नै त्यस्तो व्यक्तिको नेपाली नागरिकता स्वतः समाप्त हुने व्यवस्था रहेको छ ।

पुनः नागरिकता लिन सकिने व्यवस्था
विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिन चाहने व्यक्तिले दफा ११ अनुसार विदेशी नागरिकता त्यागेको प्रमाणसहित सम्बन्धित मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था पनि ऐनमा उल्लेख छ ।

सुझावित समाचार