अन्नपूर्ण चिनी उद्योगका मजदुरको च्यापिएर मृत्यु

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

उखुको खुवा बनाउने मेसिनमा च्यापिएर अन्नपूर्ण चिनी उद्योग धन्कौलमा एक मजदुरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार उद्योगको मेसिनमा च्यापिएर धन्कौल– ४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो। राय धन्कौल– ३ मा रहेको चिनी उद्योगको खुवा बनाउने ठाउँमा उद्योग मजदुरका रूपमा काम गर्दै आएका थिए। 

बिहान काम गर्ने क्रममा एक्कासि मेसिनमा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। उनका अनुसार रायको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईले बताए । घटनापछि उद्योगको क्रसिङसमेत केही समय अवरुद्ध भएको थियो।
 

सुझावित समाचार