भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले खेलाडीसँगको केन्द्रीय सम्झौता परिवर्तन गर्दै छ । बिसिसिआईले आसन्न आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितापछि खेलाडीसँगको सम्झौता परिवर्तन गर्न लागेको हो । यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका खेलाडीमा पर्नेछ ।
पूर्वकप्तानहरू विराट कोहली र रोहित शर्मा नयाँ ग्रेडिङ प्रणालीअनुसार पूर्ववत् स्थानमा रहनेछैनन् । उनीहरूलाई ‘बी’ ग्रेडमा राख्ने तयारी भइरहेको भारतीय मिडियाले जनाएका छन् । यसअघि दुवै खेलाडी ‘ए’ ग्रेडमा थिए । ग्रेडबाट घटुवा हुनु भनेको वार्षिक पारिश्रमिकसमेत परिवर्तन हुनु हो । विराट र रोहितले ‘ए’ ग्रेडमा रहँदा बिसिसिआईबाट वार्षिक रूपमा सात करोड भारु पाइरहेका थिए । अब ‘बी’ ग्रेडमा रहँदा उनीहरूले प्रतिवर्ष तीन करोड भारु पाउनेछन् । बिसिसिआईले प्लस ‘ए’मा रहेका खेलाडीलाई सात करोड भारु, ‘ए’लाई पाँच करोड भारु, ‘बी’ ग्रेडलाई तीन करोड भारु र ‘सी’ ग्रेडमा समावेश हुने खेलाडीलाई एक करोड भारु दिने नयाँ प्रस्ताव अगाडि सारेको हो ।
तीनवटै फर्म्याटका लागि प्राथमिकता
बिसिसिआईले खेलाडीको ग्रेडिङलाई नयाँ ढाँचा बनाएको छ । उसले टेस्ट, एकदिवसीय र टी–२० फर्म्याट निरन्तर रूपमा खेल्ने खेलाडीलाई प्लस ‘ए’ ग्रेडमा राखेको छ ।
बिसिसिआईको पछिल्लो ग्रेडिङमा विराट, रोहित, जसप्रीत बुमराह र रवीन्द्र जडेजा प्लस ‘ए’मा थिए । ‘ए’ ग्रेडमा मोहमद सिराज, लोकेश राहुल, शुभमन गिल, हार्दिक पान्ड्या, मोहमद सामी र ऋषभ पन्त थिए । उनीहरूले बोर्डबाट प्रतिवर्ष पाँच करोड भारु पाउँथे । विराट र रोहितले टेस्ट र टी–२० आईबाट सन्न्यास लिइसकेका छन् । उनीहरू अहिले केवल एकदिवसीय टोलीमा मात्र छन् ।
टी–२० र टेस्टबाट सन्न्यास लिएका कारण नै दुवैलाई ‘बी’ ग्रेडमा राख्न लागेको भारतीय मिडियाले जनाएको छ । यसैगरी, ‘सी’ ग्रेडमा रिंकु सिंह, तिलक बर्मा, ऋतुराज गायकवाड, शिभम दुबे, रवि बिस्नोई, वासिङटन सुन्दर, मुकेश कुमार, सञ्जु सामसन, अश्रदीप, प्रसिद्ध कृष्णा, अभिषेक शर्मा र आकाश दीपजस्ता खेलाडी रहेका छन् ।