उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको शिष्टाचार भेट

बुधबार, ७ माघ, २०८२
डिजिटल संस्करण

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा शुभकामना आदान–प्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, सहयोग तथा अन्य विविध आयामका विषयमा छलफल भएको बताइएको छ।

उपराष्ट्रपति यादवले नेपाल–भारत सम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरमा सदियौँदेखि प्रगाढ रहिआएको उल्लेख गरे। उनले नेपाल–भारत सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताउँदै नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताए। साथै, भारत सरकारले ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत छिमेकीहरूसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेकोमा उनले खुसी व्यक्त गरे। 

उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै आर्थिक तथा प्राविधिकसहित विभिन्न क्षेत्रमा भारतले पुर्याउँदै आएको उल्लेखनीय सहयोगप्रति धन्यवादसमेत व्यक्त गरे। उनले निमित्त राजदूत डा. पाण्डेमार्फत भारतका उपराष्ट्रपति सिपी राधाकृष्णनको सुस्वास्थ्य तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना गरे। 

उक्त अवसरमा भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. पाण्डेले नेपाललाई भारतले हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए। उनले विशेषगरी खेलकुदको क्षेत्र, विशेषतः क्रिकेटमा सहयोग गर्न भारत इच्छुक रहेको उल्लेख गर्दै नेपालका रेलवे क्षेत्रमा समेत सक्दो सहयोग गर्न भारत तयार रहेको बताए।

सुझावित समाचार