निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सम्पन्न भएपछि समीक्षासहितको केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा आगामी दिनका सुरक्षा चुनौतीबारे विश्लेषण भएको छ ।
बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तको योजनाबारे समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
निर्वाचन सुरक्षा योजना सम्बन्धमा चारवटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा ब्रिफिङ भएको थियो।
बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ। त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णयसमेत गरेको मन्त्रालयले जनाएको छ ।
निर्वाचनको प्रचारप्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा सोको कडाइका साथ कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ। खासगरी नयाँ दल र पुराना दलबिच चुनाव प्रचारको क्रममा झडप र टकरावको जोखिम रहेकाले त्यसमा विशेष ध्यान दिनुपर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए।