रुपन्देहीमा १५९ जनाको उम्मेदवारी दर्ता, ६५ जना स्वतन्त्र

बुधबार, ७ माघ, २०८२
डिजिटल संस्करण

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार ६५ जना स्वतन्त्रसहित १५९ जनाले मनोनयन दर्ता गराएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । निर्वाचन अधिकृत कार्यालयहरूले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले समेत उल्लेख्य रूपमा मनोनयन गरेका छन्। क्षेत्र नम्बर १ मा ३२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । यस क्षेत्रमा २० जना दलका उम्मेदवार छन् भने १२ जना स्वतन्त्र उमेदवार रहेका छन् । यहाँ नेकपा एमालेबाट दधिराम न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसबाट हिरा केसीले दर्ता गराएका छन् । रास्वपाबाट सुनील लम्सालले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर २ मा ४१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । यो क्षेत्रमा २१ दलका र २० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवार दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट चुन्न पौडेलले उम्मेदवारी दर्ता गराएका छन् भने रास्वपाबाट सुलभ खरेलले दर्ता गराएका छन् । डा. निकोलस भुसालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ३ मा ३६ जनाले मनोनयन दर्ता गरेका छन् । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले १९ दलका र स्वतन्त्र १७ जनाले उम्मेदवारी दिएको जानकारी दिए । 

यो क्षेत्रमा नेकपा एमालेबाट वासुदेव घिमिरे, नेपाली कांग्रेसबाट सुशील गुरुङ, रास्वपाबाट डा. लेखजंग थापा, नेपाली कम्युनिस्ट पार्टीबाट फैज अहमद खान र राप्रपाबाट प्रज्ज्वल बोहोराले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ४ मा २२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिए। १५ राजनीतिक दल र स्वतन्त्र सातजनाको मनोनयन दर्ता भएको छ । यो क्षेत्रमा नेकपा एमालेबाट डा. प्रमोद यादव, नेपाली कांग्रेसबाट आसुतोष मिश्र, रास्वपाबाट कनैया बनियाँ, जनता समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्लाले मनोनयन दर्ता गराएका छन् । 

क्षेत्र नम्बर ५ मा २८ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले बताए । यो क्षेत्रमा दलबाट १९ र नाैजना स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा नेकपा एमालेबाट खिमलाल भट्टराई, नेपाली कांग्रेसबाट भरतकुमार शाह, रास्वपाबाट तोफिक अहमद खान, जनमत पार्टीबाट ओमप्रकाश यादव गुल्जारीले मनोनयन दर्ता गराएका छन् । 
 

सुझावित समाचार