फागुन २१ गते लागि तय भएको निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार साँझ ६ बजेसम्म दुई हजार ९२५ उम्मेदवारी परेको छ।
उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरे। निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउने उनको अपेक्षा छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए। सचिव राउतका अनुसार जसमध्ये महिला उम्मेदवार ३३६ र पुरुष दुई हजार ५८९ रहेको छ। यस्तै, अपांगता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्र क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुने जनाएको छ। सोही दिनको दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ।