सिराहामा निर्वाचन क्षेत्र नम्बर ४ बाट पाँचजना तथा क्षेत्र नम्बर ३ बाट दुईजना गरी सात पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन्। सिरहा सदरमुकाम पुगेर निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र विश्वनाथ साहले उम्मेदवारी दर्ता गराएका छन्। दुवैजना २०७९ को चुनावका प्रतिद्वन्द्वी हुन्। श्रेष्ठ एमालेबाट र साहले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्।
यता मिर्चैयास्थित क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पाँचजना पूर्वमन्त्रीले मनोनयन दर्ता गराए। जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेकपाबाट अजयशंकर नायक, नेकपा एमालेबाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानले उम्मेदवारी दर्ता गराएका हुन्।
यसमध्ये राजकिशोर तीनपटक सांसद र दुईपटक मन्त्री भइसकेका छन्। यसअघि सिरहा २ बाट चुनाव जितेका उनी त्यसअघि सिरहा ४ बाटै निर्वाचित भएका थिए। जसपाबाट जनमत प्रवेश गरेका डा. महतोले पनि उम्मेदवारी दर्ता गराए। दुई पटक सांसद भएका उनी त्यसअघि जसपा नेपालबाटै समानुपातिक सांसद थिए। तर, जसपा नेपालबाट फुटेर बनेको जसपामा लागेका महतो यसपालि भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन्।
नेकपाका अजय शंकर भने समानुपातिक सांसद भएर मन्त्री भएका हुन्। यसअघि २०७४ मा प्रत्यक्ष चुनाव लडेका उनी जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएका थिए।
एमालेका धर्मनाथ भने प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एकपटक मन्त्री भएका छन्। विश्वेन्द्र भने समानुपातिक सांसद हुँदै मन्त्री भएका हुन्। यससँगै यो क्षेत्र जिल्लामा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ।
क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट चन्द्रकला देवी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादव र आम जनता पार्टीबाट वीरेन्द्र साहले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत शिव वाग्ले बताए।
क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट डा. सुभाष चन्द्र यादव, जसपाबाट अशेश्वर यादव, रास्वपाबाट डा. शम्भू यादव, उज्यालो नेपालबाट जेनजी युवा श्रवन पासमान, जनमतबाट रोहित महतो र प्रलोपाबाट पुजन यादवले उम्मेदवारी दर्ता गराएका छन्।