नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वकाे पचेटामा पर्ने खतरा रहेको बताएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले दक्षिण एसियाली मुलुकहरू श्रीलंका र बंगलादेशपछि नेपालमा विदेशी शक्तिको खिचातानी देखिएको बताए । आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराएर सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास उनको थियो । पुनले २३ भदौमा भएको नवयुवाको आन्दोलन जायज भए पनि २४ भदौको विध्वंसमा देशी–विदेशी शक्तिको घुसपैठ भएको टिप्पणी गरे । राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण मोडमा रहेको भन्दै उनले अग्रजले जोगाएर ल्याएको देश भावी पुस्तालाई सग्लै हस्तान्तरण गर्न सकिन्छ या सकिँदैन भन्ने चुनौती खडा भएको बताए । ‘देशको राजनीति के हुन्छ भन्न सकिने अवस्था छैन । श्रीलंका, बंगलादेशपछि विश्वशक्तिहरूको खिचातानीले नेपाल भूराजनीतिक द्वन्द्वबाट प्रभावित भएको छ । २४ भदौको विध्वंसमा विदेशी विदेशी शक्तिको घुसपैठ भयो,’ पुनले भने, ‘राष्ट्रिय स्वाधीनता चुनाैतीपूर्ण बनेको छ । अग्रजहरूले बनाएको देश सग्लै राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ कि सक्दैनौँ ? त्यो चुनौती आज उभिएको छ ।’
आफ्नो उम्मेदवारी राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको भन्दै उनले रोल्पाली जनताको शिर झुक्ने नदिने प्रतिबद्धता जनाए ।
आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जिल्ला छाडेको र मुख्य चुनाव प्रचारक सन्तोष सुवेदी नै नेकपा प्रवेश गरेपछि नेत्रविक्रम चन्द विप्लवले उम्मेदवारी नदिने घोषणा गरेसँगै आफ्नो जित सुनिश्चित भएको उनको भनाइ थियो । ‘रोल्पा गणतन्त्र, संघीयता र समावेशिताका लागि सबैभन्दा धेरै बलिदान गरेको जिल्ला हो । यहाँ हाम्रो पार्टीको जग भत्काउँछु भनेर सबै पार्टी लागेका छन् । बलिदानबाट बनेको यो जग भत्काउन दिँदैनौँ,’ पुनले भने, ‘अमरसिंह पुनजी जिल्ला छाडेर अन्तै जानुभयो । विप्लवजीले चुनाव लड्ने घोषणा गर्नुभएको थियो । उहाँको प्रमुख चुनाव प्रचारक सन्तोष सुवेदी नै हाम्रो पार्टीमा प्रवेश गरेपछि उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । रोल्पामा हामीलाई जित्न कठिन छैन ।’
उनले स्वच्छ र मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धामा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।