रास्वपाबाट कैलाली ५ मा आनन्दबहादुर चन्दले दिए उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्दबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन्। पार्टीका नेता–कार्यकर्ताको र्यालीसहित धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर चन्दले उम्मेदवारी दर्ता गराएका हुन्। 

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएर चन्द राजनीतिमा होमिएका हुन्। उनले जैविक रसायनशास्त्रमा हालै विद्यावारिधि पूरा गरेका छन् । बैतडीमा जन्मिएका चन्दको परिवारको बसोबास धनगढी उपमहानगरपालिका– ८ मा रहेको छ। मनोनयन दर्ताका क्रममा चन्दले देशले चाहेको परिवर्तनका लागि आफू पद छोडेर राजनीतिमा आएको बताए।

‘देशले परिवर्तन खोजेको छ। त्यो परिवर्तनका लागि रास्वापाले अघि सारेका मुद्दामा हामी पनि सरिक हुँदै जेन–जी भाइहरूले गरेको आन्दोलन र देशले चाहेको परिवर्तनका लागि हामी पद त्यागेर आएका छौँ,’ चन्दले भने। उनको प्रस्तावकमा दीपेन्द्रबहादुर सिंह र समर्थक पुस्कर अवस्थी रहेका छन्।

प्रदेशको अस्थायी राजधानी धनगढी पर्ने कैलाली ५ मा नेपाली कांग्रेसबाट पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह मनु, नेकपा एमालेबाट जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना र नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले उम्मेदवारी दर्ता गराउँदै छन् ।

सुझावित समाचार