राष्ट्रिय लिग फुटबलमा पोखराको लालीगुराँस स्पोर्टस् एसोसिएसनले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा उत्कृष्ट फर्ममा रहेको लालीगुराँसले मकवानपुरको नवजनजागृति युथ क्लबलाई ४–१ ले हराएको छ । यसअघि आफ्नो पहिलो खेलमा लालीगुराँसले ‘ए’ डिभिजनकै अनुभवी क्लब जावलाखेल युथलाई स्तब्ध पारेको थियो । दोस्रो जित निकाल्ने क्रममा लालीगुराँसका लागि आशिष गुरुङले दुई गोल गरेका थिए । अब्दुल युसुफ र एकोएटे जुनियरका नाममा समान एक गोल गरे । एन्फा कम्प्लेक्समा भएको खेलमा लालीगुराँसविरुद्ध नवजनजागृतिका लागि उमेश सन्जेलले एक गोल फर्काएका थिए ।
खेलको २७औँ मिनेटमा युसुफले लालीगुराँसलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा नवजनजागृतिले बलियो डिफेन्स रणनीति अपनाउँदा लालीगुराँस एक गोलमै सीमित भएको थियो । मध्यान्तरपछि लालीगुराँसको खेलमा सुधार देखियो । खेलको ५५औँ मिनेटमा आशिषले टोलीलाई २–० को स्थितिमा राखे । खेलको ६०औँ मिनेटमा एक गोल गर्दैै लालीगुराँसलाई ३–० ले अगाडि बढाए । खेलको ८९औँ मिनेटमा एकोएटेले ४–० को अग्रता दिलाए । खेलकै अन्तिम इन्जुरी समयमा नवजनजागृतिका लागि उमेशले ४–१ का लागि गोल गरे । यसअघि पहिलो खेलमा नवजनजागृति एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएको चित्लाङ एफसीसँग २–१ ले पराजित भएको थियो । ‘ए’ डिभिजन लिगका १३ र एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका चार गरी १७ टोलीले विनारेलिगेसनको राष्ट्रिय लिग खेलिरहेका छन् ।
एनआरटीले सातदोबाटोलाई हरायो
दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा न्युरोड टिम (एनआरटी)ले पहिलो जित निकाल्यो । एनआरटीले सातदोबाटो युथ क्लबलाई ३–१ ले हरायो । एनआरटीका लागि विज्ञान खड्काले दुई र टिमोथी ओकेरेकले एक गोल गरेका थिए । सातदोबाटोका फोडे फोफानाले एक गोल फर्काए । यसअघि एनआरटी आफ्नो पहिलो खेलमा मच्छिन्द्र एफसीसँग पराजित भएको थियो । लिगमा पहिलो हार व्यहोरेको सातदोबाटो दुई खेलसम्म जितविहीन छ । पहिलो खेलमा सातदोबाटोले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
सातदोबाटोविरुद्ध विज्ञानले सातौँ मिनेटमा एनआरटीलाई १–० को अग्रता दिलाए । खेलको १७औँ मिनेटमा टिमोथीले एनआरटीलाई २–० को स्थितिमा राखे । खेलको ३२औँ मिनेटमा सातदोबाटोका अनुभवी विदेशी खेलाडी फोफानाले २–१ को गोलअन्तरमा झारेका थिए । स्टार खेलाडीले भरिएको सातदोबाटोले एनआरटीविरुद्ध दोस्रो हाफमा स्तरीय खेल देखाउन सकेन । विज्ञानले अन्तिम इन्जुरी समयमा गोल गर्दै एनआरटीको जित पक्का पारे ।