गण्डकीमा १० सहकारीको दर्ता खारेज

१७ सहकारी समस्यामा, ६ अर्ब ६२ करोड ७६ लाखभन्दा बढी बचत हिनामिना

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारमातहतका १० सहकारी संघ–संस्थाको दर्ता खारेज गरिएको छ । प्रदेशका सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका सहकारी संस्थाको दर्ता खारेजी गर्न सकिने व्यवस्थाअनुसार अद्यावधिक नभई निष्क्रिय रहेका सहकारीको दर्ता खारेज गरिएको हहो । खारेज भएका १० सहकारीमध्ये सबैभन्दा धेरै आठवटा स्याङ्जाको गल्याङ नगरपालिकाभित्रका छन् ।

उनका अनुसार भावना कृषि सहकारी संस्था, करुणा मौरीपालन सहकारी, परिश्रमी मौरीपालन सहकारी, अलकादेवी मौरीपालन सहकारी, सौर्यपानी अदुवा उत्पादक सहकारी, पकवादी मौरीपालन सहकारी, गौरवशील अदुवा उत्पादक सहकारी, खरीपानी मौरीपालन सहकारी संस्था खारेजीमा परेका छन् । यसैगरी, म्याग्दीको बेनी नगरपालिकास्थित उपभोक्ता सहकारी संघ लिमिटेड र पर्वतको मोदी गाउँपालिका– २ को देउपुर मौरीपालन कृषक सहकारी संस्था लिमिटेडको लाइसेन्स पनि खारेज गरिएको छ । संस्थाबाट खारेजी गरिपाऊँ भन्ने निवेदन रजिस्ट्रार कार्यालयमा प्राप्त भएपछि स्थलगत मुचुल्कासमेतका कागजातका आधारमा दर्ता खारेज गरिएको रिजालले जानकारी दिए । 

गण्डकी प्रदेशअन्तर्गतका १७ सहकारी समस्यामा 
प्रदेशमातहतका हालसम्म प्रारम्भिक छानबिन भएका २१ मध्ये १७ सहकारीमा रकम हिनामिना भएको देखिएको रजिस्ट्रार रिजालले बताए । रकम हिनामिना भएको देखिएका १७ सहकारीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छन् भने समस्या देखिएका अन्य सहकारीलाई समस्या समाधानका लागि समय दिइएको उनले जानकारी दिए । गण्डकीमा संघ, प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारभित्र करिब तीन हजार सहकारी छन् । तीमध्ये प्रदेशको क्षेत्राधिकारभित्र नौ सय एक रहेकामा पाँच सय ८३ वटा अद्यावधिक भएका, तीन सय १८ वटा निष्क्रिय रहेका छन् ।

पौने सात अर्बभन्दा बढी बचत हिनामिना 
गण्डकीमा समस्यामा रहेका १७ सहकारीबाट बचतकर्ताको ६ अर्ब ६२ करोड ७६ लाखभन्दा बढी बचत रकम हिनामिना भएको छ । रकम हिनामिना भएका १७ सहकारीमध्ये सबैभन्दा धेरै प्राइम बहुउद्देश्यीय सहकारी कास्कीको एक अर्ब ५४ करोड १५ लाख आठ हजार र सबैभन्दा कम जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ङादी सेवा केन्द्र लमजुङको ११ लाख ४४ हजार हिनामिना भएको छ ।

यस्तै, कुमारी बहुउद्देश्यीय सहकारी म्याग्दीको एक अर्ब ४९ करोड ४४ लाख ४३ हजार, इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङको एक अर्ब ३३ करोड ९२ लाख ५० हजार, पोखरा बचत तथा ऋण सहकारी संस्था कास्कीको ८८ करोड ७० लाख ९८ हजार, तपाईं–हाम्रो बहुउद्देश्यीय सहकारी संस्था पर्वतको २९ करोड ९८ लाख ५० हजार, मित्र मिलन बचत तथा ऋण सहकारी संस्था कास्कीको २६ करोड ८६ लाख ६४ हजार, वैशाली कृषि सहकारी संस्था पर्वतको १८ करोड, छिपछिपे उपभोक्ता सहकारी संस्था नवलपरासीको १६ करोड ५८ लाख ९२ हजार, कालिका बचत तथा ऋण सहकारी संस्था लमजुङको नौ करोड ११ लाख १५ हजार, ग्रामीण विकास कृषि सहकारी संस्था पर्वतको नौ करोड एक लाख ५० हजार, विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था कास्कीको सात करोड ६९ लाख ५९ हजार, सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लमजुङको ६ करोड ४४ लाख, नागढुंगा बचत तथा ऋण सहकारी संस्था पर्वतको पाँच करोड ३८ लाख ३७ हजार, सूर्योदय बचत तथा ऋण सहकारी संस्था स्याङ्जाको चार करोड, संघर्षशील बचत तथा ऋण सहकारी कास्कीको दुई करोड ९६ लाख र कुर्घा चिसापानी बहुउद्देश्यीय सहकारी संस्था पर्वतको ४३ लाख बचत रकम हिनामिना भएको भेटिएपछि अदालतमा मुद्दा दर्ता भएको छ । सबैको मुद्दा विचाराधीन रहेका रिजालले जानकारी दिए । १७ सहकारीमध्ये लमजुङको कालिकाको मिलापत्र भइसकेको छ । 
 

सुझावित समाचार