आइतबार : १० बजेसम्मका १० मुख्य खबर

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुने 
निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ।  कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित एक कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो। 

सरकार र निर्वाचन आयोगबिच छलफल
प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्नेलगायत विषयमा सरकार र निर्वाचन आयोगबिच छलफल सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छलफलमा सरकारका मन्त्री तथा आयोगका पदाधिकारी र कर्मचारी सहभागी छन्। 

उपत्यकाका नदीकिनारको मापदण्डसम्बन्धी फैसला उल्टी
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीकिनारमा थप २० मिटर सीमा कायम गर्नुपर्ने आफ्नै फैसला उल्ट्याएको छ। न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघिको फैसला केही उल्टी गरेको हो।

बालेनले दिए मेयरबाट राजीनामा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन्। शाहले उपप्रमुखलाई राजीनामा बुझाएका हुन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्। उनले झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

घन्टीघर पुगेर बालेनले सम्हाले पदभार
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन)ले घन्टीघर पुगेर पार्टीको पदभार सम्हालेका छन्। रास्वपाका वरिष्ठ नेता बालेनले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर घन्टी बजाएका थिए। सभापति रवि लामिछानेले बालेनलाई घन्टीघरमा स्वागत गरेका थिए। कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनी कार्यालयबाट बाहिरिसकेका छन्।

देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। गगन थापा समूहलाई आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै देउवा पक्ष सर्वोच्च पुगेको हो। सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्दै माघ ६ गतेका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ। सोही दिन २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया पनि सुरु हुँदै छ। 

एमालेमा योगेश भट्टराईको ४ बुँदे फरक मत–इच्छा र पक्षधरताका आधारमा उम्मेदवार छनोट गरियो 
नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीले उम्मेदवार छनोटमा इच्छा र पक्षधरतालाई आधार बनाउँदा आन्तरिक एकतालाई कमजोर बनाएको बताएका छन्। शनिबार बसेको सचिवालय बैठकले कुनै मापदण्ड नबनाई उम्मेदवार छनोट गरेकोमा फरक मत राखेका छन्। 

वीर अस्पतालको आकस्मिक कक्षमा थपिए २० शय्या
वीर अस्पतालले आकस्मिक कक्षको शय्या विस्तार गरेको छ। २० शय्या थपिएसँगै अब वीरको आकस्मिक कक्षमा शय्या संख्या ५५ पुगेको छ। उक्त शय्या आइतबारदेखि सञ्चालनमा आएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले बताए। उनका अनुसार ५५ बाट अझै पनि संख्या थप गरिनेछ।

नेप्सेमा ३१.१२ अंकको वृद्धि, कारोबार आठ अर्ब नाघ्यो
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ। नेप्से परिसूचक ३१.१२ अंकले वृद्धि भई २६७२.५५ विन्दुमा पुगेर बजार बन्द भएको हो । यस दिन कुल ३३८ कम्पनीका एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँ पुगेको छ।

थाइल्यान्डले नेपाललाई आठ विकेटले हरायो 
घरेलु टोली नेपाललाई आठ विकेटले हराउँदै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्यान्डले विजयी सुरुवात गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर ब्याटिङ सुरु गरेको नेपाल १९.५ ओभरमा अलआउट हुँदा १२३ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा थाइल्यान्डले १६.५ ओभरमा दुई विकेट गुमाउँदै जित निकालेको हो ।
 

सुझावित समाचार