नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। गगन थापा समूहलाई आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै देउवा पक्ष सर्वोच्च पुगेको हो।
सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्दै माघ ६ गतेका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ। सोही दिन २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया पनि सुरु हुँदै छ।
रिट निवेदन तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत दायर गरिएको हो। देउवा पक्षले आजै पेसी तोकेर सुनुवाइ गर्न आग्रह गरे पनि प्रशासनिक कारण देखाउँदै सर्वोच्चले सोही दिन सम्भव नभएको जनाएको थियो। त्यसपछि रिट दर्ता गराएर देउवा पक्ष फर्किएको जनाइएको छ।