साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ। नेप्से परिसूचक ३१.१२ अंकले वृद्धि भई २६७२.५५ विन्दुमा पुगेर बजार बन्द भएको हो।
यस दिन कुल ३३८ कम्पनीका एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँ पुगेको छ।
बजार उकालो लागेसँगै चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी, उन्नति सहकारी लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुराँस फाइनान्सका सेयर १० प्रतिशतले बढेका हुन्।
कारोबार भएका स्टक्समध्ये २२४ वटाको मूल्य बढ्दा ३१ वटामा गिरावट आयो भने पाँचवटाको मूल्य स्थिर रह्यो। कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स अग्रस्थानमा रहँदै ५३ करोड रुपैयाँबराबरको सेयर कारोबार गर्यो।
त्यस्तै, एसवाई प्यानल नेपालले ३७ करोड रुपैयाँको कारोबार गर्दा श्रीनगर एग्रिटेकको २८ करोड, बन्दीपुर केबलकार एन्ड टुरिजमको २५ करोड र राधी विद्युतको २४ करोड रुपैयाँबराबरको सेयर किनबेच भयो।
समूहगत रूपमा हेर्दा फाइनान्स समूह सबैभन्दा बढी ५.७३ प्रतिशतले उकालो लाग्यो। डेभलपमेन्ट बैंक समूह ३.०३ प्रतिशतले बढ्दा होटेल्स एन्ड टुरिजम तथा म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहको उपसूचक करिब तीन प्रतिशतले वृद्धि भएको छ।