झापा ५ यतिवेला राजनीतिको केन्द्रमा छ । एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रतिस्पर्धा गर्ने भएपछि यो निर्वाचन क्षेत्र चर्चाको शिखरमा छ । नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई टिकट दिइसकेको छ । जसकारण चोक, बजारदेखि चिया पसलसम्म यही विषयले तताएको छ ।
सहरका गल्लीगल्लीमा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको चर्चा भए पनि झापा ५ को ग्रामीण क्षेत्र भने सुनसान छ । यहाँका मतदाताले उम्मेदवारबारे खासै चासो देखाएका छैनन् । सामाजिक सञ्जाल २१ फागुनको निर्वाचनका लागि ओली र बालेनमय छ । तर, सामाजिक सञ्जालबाट टाढा रहेका दैनिक ज्यालामजदुरी गरेर खाने ग्रामीण क्षेत्रका मतदातालाई भने न निर्वाचनबारे चासो छ, न त उम्मेदवारबारे नै ।
झापा ५ अन्तर्गत गौरादह नगरपालिका– ७ गछियामारीका सोम सोरेन शनिबार दिउँसो साहुको खेतमा रासायनिक मल छर्दै गर्दा भेटिए । आफ्नो नाममा एक टुक्रा जमिन नरहेका सोरनको परिवार साहुकै जग्गामा फुसको घर बनाएर बसेका छन् । न उनी सामाजिक सञ्जालको पहुँचमा छन्, न त सञ्चारकै पहुँचमा, तसर्थ उनी निर्वाचनबारे जानकार नै छैनन् । ‘फेरि चुनाव हुँदै छ र ?,’ नयाँ पत्रिकासँग उनले प्रश्न गरे ।
दैनिक पाँच सय रुपैयाँ ज्यालादारीमा साहुको खेतीमा काम गर्ने सोमलाई बजारमा हुने चुनावी चर्चाका बारेमा जानकारी छैन । ‘दिनभर काम गरेर साँझ त्यही पैसाले खाने हामीलाई अरूको कुरा सुन्ने फुर्सद नै कहाँ हुन्छ र ?,’ उनी भन्छन्, ‘गाउँमा नेता भोट माग्न आउन थालेपछि मात्र हामीलाई चुनाव आएजस्तो हुन्छ । अहिले त केही जानकारी नै छैन ।’ अर्कोको जमिनमा बनाएको सोरेनको फुसको घरले हिउँदको शीत र बर्खाको पानी रोक्दैन । जसोतसो उनले जीवन चलाएका छन् ।
अर्काको जमिनमा बसेका कारण उनलाई राज्यबाट घर बनाउन आउने सहयोगसमेत आएको छैन । अघिल्लो निर्वाचनमा जग्गा दिएर घर बनाइदिने आश्वासन दिएका नेता निर्वाचनपछि गाउँ फर्किएनन् । ‘बस्ने जमिन र सानो घर बनाइदिने भन्थे । चुनावपछि देखा नै परेनन्,’ उनी भन्छन्, ‘यसपटक पनि त त्यही भन्दै आउँछन् होला नि !’
यो निर्वाचन क्षेत्रमा लामो विरासत बनाएका ओली र पछिल्लो समय चर्चामा आएका बालेनबिच चुनावी प्रतिस्पर्धा हुनेबारे गौरादह ४ मझुवाका सुकुमबासी तिला मुर्मु अनभिज्ञ छन् । उनलाई निर्वाचन नजिकिएकोबारे जानकारी छैन । अर्काको जमिनमा बनाएको फुसको घर पनि भत्किन लागेको छ । दिनभर अर्काको खेतीमा काम गरेर परिवार पाल्ने उनलाई चुनावी बहस सुन्ने फुर्सद पनि छैन । अहिलेसम्म गाउँमा चुनावबारे छलफलसमेत नभएको उनी बताउँछन् । विगतमा पनि चुनावका वेला आश्वासन मात्र पाएको उनको गुनासो छ । ‘हामी एक छाक टार्न पनि मुस्किल हुने विपन्नलाई त कसैले नहेर्ने रहेछ । अघिल्लोपटक पनि चुनावमा भोट माग्न आउनेले कतै ऐलानी जग्गा खोजेर राख्छौँ भन्थे । तर, केही गरेनन् । अरू वेला नेताले नमस्कार पनि फर्काउँदैनन् । चुनावका वेलाचाहिँ सबै थोक गर्नेजस्तो हामीलाई नै नमस्ते गर्दै आउँछन्,’ उनी भन्छन्, ‘ठुलो हावा पनि नछेक्ने घर छ । अर्काको जग्गामा बसिएको छ । कहिले उठेर हिँड्नुपर्ने थाहा छैन । गरिबलाई पनि हेरून् भन्ने लाग्छ । यस्ता उम्मेदवार आए भनेचाहिँ भोट दिन्छौँ । तर, धेरै आशाचाहिँ छैन ।’
खेतमा मकै गोड्दै गर्दा भेटिएकी गौरादह ४ की सीता विश्वकर्मालाई निर्वाचन हुँदै छ भन्ने जानकारी छ । तर, ठ्याक्कै मिति थाहा छैन । को उम्मेदवार उठ्दैछन् भन्ने पनि जानकारी छैन । किसानका लागि कसैले काम नगरेको उनको गुनासो छ । झापा ५ मा विकासले फड्को मारेको सबैको बुझाइ छ । तर, सीतालाई भने गाउँको विकास हुन नसकेजस्तो लाग्छ । ‘गेउरिया खोला घर छेउमै छ । बर्खामा बगाएर लैजान्छ भन्ने पिर छ,’ उनी भन्छिन्, ‘गाउँमा सडकबत्तीसम्म छैन । राति हिँड्न सकिँदैन । अनि कसरी विकास भयो भन्नु ?’
गौराद–५ बालुबथानका ७८ वर्षीय डिकबहादुर खत्री २१ फागुनमा हुने निर्वाचनबारे जानकार छन् । जेन–जी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक संरचनाको क्षतिबारे पनि जानकार छन् । झापा–५ मा उम्मेदवारी दिन ओली र बालेन आउनेबारे पनि उनले रेडियोमा समाचार सुनेर जानकारी पाएका छन् । तर, गाउँमा सहरको चोकमा जस्तो चुनावको चर्चा भइनसकेको उनी बताउँछन् ।