- काठमाडौंस्थित सोल्टी होटेलमा आगामी १४ देखि १६ मार्चसम्म एनआरएनएको १२औँ महाधिवेशन गरिने
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन एक महिना पर धकेलिएको छ । यसअघि २३ देखि २५ फेब्रुअरीसम्मका लागि तय भएको महाधिवेशन १४ देखि १६ मार्चसम्म गरिने भएको हो । महाधिवेशन काठमाडौंस्थित सोल्टी होटेलमा गरिने तय भएको छ ।
एनआरएनएको बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीको शुक्रबार बसेको सातौँ बैठकले मिति सार्नेलगायतका निर्णय गरेको हो । त्यस्तै, नयाँ सदस्यता आवेदन अवधि विस्तार, सदस्यता मर्ज तथा भेरिफिकेसन सम्बन्धमा समेत थप निर्णय गरिएको छ ।
बैठकले नयाँ वा छुटेका सदस्यता आवेदनको समयावधि २५ जनवरी २०२६ सम्म विस्तार गर्ने निर्णय गरेको छ । समानान्तर रूपमा गठन भएका राष्ट्रिय समन्वय परिषद्हरूले अन्य पोर्टलमार्फत बनाएका सदस्यहरूको विवरण पनि २५ जनवरी २०२६ सम्म बुझाइसक्नुपर्ने तथा त्यसपछि आएका सदस्यता मर्ज तथा नवीकरण नहुनेसमेत बैठकको निर्णय छ ।
उक्त सदस्यहरूको विवरण संकलन गर्ने समन्वय महासचिव बिआर लामा तथा अध्यक्ष महेशकुमार श्रेष्ठलाई तोकिएको छ । ३१ जनवरी २०२६ भित्र अद्यावधिक गरी अन्तिम सदस्यता विवरण सार्वजनिक गरिने भएको छ ।
समानान्तर एनसिसीहरूसँग स्टेरिङ कमिटीको बैठक आयोजना गरी १२औँ महाधिवेशनमा सहभागिता तथा एनसिसीहरूको एकताका लागि सहज वातावरण निर्माण गर्न दुवैतर्फको कानुनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गरी अगाडि बढ्नेसमेत बैठकको निर्णय छ ।