चाडपर्वमा बैंकिङ प्रणालीबाट बाहिरियो ३० अर्ब निक्षेप

शुक्रबार, ११ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ चालू आर्थिक वर्ष ०८३/८४ को कात्तिक महिनामा वाणिज्य बैंकहरूमा राखिएको निक्षेप ३० अर्ब नौ करोड रुपैयाँले घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार असोज मसान्तसम्म २० वाणिज्य बैंकमा ७७ खर्ब ४९ अर्ब ८६ करोड रुपैयाँ निक्षेप थियो । तर, कात्तिक मसान्तसम्म आउँदा त्यो घटेर ७७ खर्ब १९ अर्ब ७७ करोडमा सीमित भएको छ । 
 

मुख्यतः चाडपर्वका कारण बैंकिङ प्रणालीबाट पैसा बाहिरिएको बैंकरहरू बताउँछन् । यसपालि दसैँ, तिहार, छठजस्ता ठुला पर्व कात्तिकमै परेका थिए । नेपालमा चाडपर्वमा अझै पनि नगदमा आधारित कारोबार हुने गर्छ । चाडपर्व सकिएसँगै बजार गएको पैसा बिस्तारै पुनः बैंकिङ प्रणालीमा आउने उनीहरूको भनाइ छ । 

चालू आवको पहिलो चार महिनामा भने वाणिज्य बैंकहरूको निक्षेप दुई खर्ब २१ अर्ब ५६ करोड रुपैयाँले बढेको छ । गत असारसम्म वाणिज्य बैंकहरूको निक्षेप ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ थियो । चालू आवको पहिलो महिना साउनमा २१ अर्ब ६३ करोडले निक्षेप घट्यो । त्यसपछि भदौमा ९६ अर्ब ७८ करोड रुपैयाँ र असोजमा एक खर्ब ७६ अर्ब ५० करोडले बढेको निक्षेप कात्तिकमा ३० अर्ब नौ करोडले घटेको हो । कात्तिक मसान्तमा बैंकहरूमा ७७ खर्ब १९ अर्ब ७७ करोड निक्षेप कायम भएको छ ।

कर्जा प्रवाह सुस्त 
कात्तिकमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह दुई अर्ब ९९ करोड रुपैयाँले मात्रै बढेको छ । गत असोज मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ५४ खर्ब ३५ अर्ब ४० करोड रुपैयाँ थियो । कात्तिक मसान्तसम्म आउँदा त्यो ५४ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

मुख्यतः चाडपर्वका कारण कात्तिकमा कर्जाको माग कमजोर भएको बैंकहरू बताउँछन् । चाडपर्वका कारण कात्तिकमा सार्वजनिक बिदा नै धेरै थियो । चाडपर्व मनाउने कार्यमा व्यस्त भएपछि आर्थिक गतिविधि पनि धेरै भएनन् । त्यसले गर्दा कात्तिकमा कर्जा प्रवाह सुस्त भएको देखिन्छ ।

चालू आवको पहिलो चार महिनामा भने एक खर्ब ४८ अर्ब ७१ करोड रुपैयाँले कर्जा विस्तार भएको छ । गत आवको अन्तिम अर्थात् असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड थियो । साउनमा त्यो एक अर्ब ७१ करोड रुपैयाँले घटेको थियो ।

त्यसपछि भदौमा ६२ अर्ब ६८ करोड रुपैयाँ, असोजमा ८४ अर्ब ७५ करोड र कात्तिकमा दुई अर्ब ९९ करोडले कर्जा प्रवाह बढेको देखिन्छ । कात्तिक मसान्तसम्म कुल कर्जा प्रवाह भने ५४ खर्ब ३९ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ ।

सुझावित समाचार