एनआइसी एसिया बैंकद्वारा दुई विद्यालयलाई फर्निचर र प्रिन्टर सहयोग

शुक्रबार, ११ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडाैं । एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत रुपन्देही र डोटीका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका– २, शंकरनगरस्थित श्री शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयलाई २० सेट डेस्क तथा बेन्च र डोटीको शिखर नगरपालिका– ४, बनोलीस्थित श्री काफलेश्वर आधारभूत विद्यालयलाई एक थान प्रिन्टर प्रदान गरेको हो।

बैंकका अनुसार ७६२ भन्दा बढी विद्यार्थी अध्ययनरत शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयमा ०८३ मंसिर १० गते आयोजित कार्यक्रममा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र बुटवल सर्कल हेड राजनप्रसाद पोखरेलले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेलाई डेस्क तथा बेन्च हस्तान्तरण गरे।

त्यसैगरी, ६२ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री काफलेश्वर आधारभूत विद्यालयमा मंसिर ९ गते आयोजित कार्यक्रममा बैंकका दिपायल शाखा अपरेसन इन्चार्ज नन्दराज भट्ट र रिलेसनसिप म्यानेजर रमेश नेपालीले विद्यालयका प्रधानाध्यापक दम्मारी साउदलाई प्रिन्टर हस्तान्तरण गरे।

विद्यालयहरूमा आवश्यक शैक्षिक पूर्वाधार तथा सामग्रीको उपलब्धता बढाई शिक्षण सिकाइ प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले उपलब्ध गराएको फर्निचर तथा प्रिन्टरबाट विद्यार्थीको पठनपाठनमा सहजता आउनुका साथै विद्यालयको शैक्षिक गतिविधि थप प्रभावकारी हुने विश्वास लिएको छ।

एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षालगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।

सुझावित समाचार