धनकुटा/ धनकुटामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । धनकुटासहित संखुवासभा र भोजपुर तीन जिल्ला कार्यक्षेत्र रहने गरी जिल्ला समन्वय समिति धनकुटाको भवनमा सो कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठ र पूर्वाधार विकास डिभिजन कार्यालय, धनकुटाका प्रमुख हुतराज चौहानले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो कार्यालयबाट स्थानीय पूर्वाधार विकास, सडक तथा पुल निर्माण र ग्रामीण क्षेत्रका पूर्वाधारसम्बन्धी काम हुनेछन् ।कार्यालयमा एकजना कार्यालय सहयोगीसहित ११ जना स्थायी कर्मचारीको दरबन्दी तोकिएको छ । गत १३ असोजको मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत रहने गरी डिभिजन कार्यालय स्थापना गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तामाङले कार्यालय स्थापना भएपछि जिल्लामा विकास निर्माणका कामले तीव्रता पाउने विश्वास व्यक्त गरे । अधुरा र अपूरा सडक निर्माण पूरा भएपश्चात् किसानले उत्पादन गरेको तरकारी तथा दुधजन्य वस्तु बिक्रीका लागि बजारसम्म पुर्याउन सहज हुने बताउँदै तामाङले धनकुटामा कार्यालय स्थापना भएसँगै छिमेकी जिल्ला संखुवासभा र भोजपुरका नागरिकले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
कार्यालय प्रमुख चौहानले जिल्लामा हुने विभिन्न विकास निर्माणलगायतका क्षेत्रमा कार्यालयले काम गर्ने बताए । सडक निर्माण नहुँदा स्थानीय नागरिकले सास्ती खेप्दै आएको उल्लेख गर्दै चौहानले काम गर्नका लागि स्थानीय नागरिक, जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाको सहयोग आवश्यक पर्ने बताए ।