घरेलु टोली नेपालले आइसिसी महिला टी– २० विश्वकप ग्लोबल छनोटमा बलियो प्रतिद्वन्दी थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको नेपाल १९.५ ओभरमा अलआउट हुँदा १२२ रन बनायो । नेपालले सुरुवात राम्रो गरे पनि मध्यक्रमले आशा गरेजस्तो प्रदर्शन गर्न नसक्दा ठुलो स्कोर बनाउन सकेन । ९८ रन बनाउँदा पाँच विकेट गुमाएको नेपालले बाँकी रन जोड्दा थप पाँच विकेट खेर फ्यालेको थियो ।
ओपनर विन्दु रावलले ५६ बलमा सर्वाधिक ४४ रन बनाइन् । उनले ६ चौका प्रहार गरिन् । अर्की ओपनर सम्झना खड्काले ११ बलमा ६ चौकासहित २६ रन बनाएकी हुन् । दुई खेलाडीले पहिलो विकेटका लागि ३४ बलमा ५२ रनको साझेदारी गरेका थिए । विन्दु र उपकप्तान पूजा महतोले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । पूजाले १२ रन जोडिन् । पूर्वकप्तान रुविना क्षेत्रीले १० बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाइन् ।
कप्तान इन्दु बर्माले मात्र ६ रन बनाइन् । कविता कुँवर पनि मात्र दुई रन बनाएर आउट भएप्छि नेपाल ठुलो स्कोर बनाउन असफल भयो । कविता जोशी तीन रन, सीता रानामगर डकआउट, रिया शर्मा चार रन बनाएर आउट भए ।
थाइल्यान्डका लागि थिपात्चा पुथावोङले सर्वाधिक तीन विकेट लिइन् । ओनिचा कोमचोम्फुले दुई विकेट लिँदा चानिदा सुथिरुङ, सुलिपर्न लाओमी र सुनिदा चतुरोग्रतनाले समान एक विकेट लिएका थिए ।