शनिबार : १० बजेसम्मका १० मुख्य खबर

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति थापा र उपसभापति शर्माले भेटे देउवा 
कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले शनिबार पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। देउवानिवास महाराजगन्जमा उनीहरूको भेट भएको हो । कांग्रेस महामन्त्री गुरुराज घिमिरे र प्रवक्ता देवराज चालिसेले उनीहरूको भेट भएको बताए ।

कांग्रेस कार्यसमिति बैठकका ६ निर्णय सार्वजनिक, एकता र निर्वाचनमा जोड
कांग्रेसले सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भएका ६ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। शनिबार सम्पन्न बैठकले निर्वाचन आयोगको हालैको निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचनको तयारी, पूर्वसभापति शेरबहादुर देउवाको भूमिका तथा भावी राजनीतिक दिशाबारे स्पष्ट धारणा तय गरेको हो ।

नेपाल प्रहरीका २१ एसएसपीको सरुवा र पदस्थापन 
नेपाल प्रहरीका ११ एएसपीको सरुवा र १० एसएसपीको पदस्थापन भएको हो। हालै बढुवा भएकालाई पदस्थापन गरी केही कार्यालयका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सन्तोष खड्कालाई पठाइएको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमला एसएसपी वसन्त रजौरेको सरुवा भएको छ । 

सञ्चारमन्त्री खरेल पनि चुनाव लड्ने
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवारका रूपमा मैदानमा उत्रिने घोषणा गरेका छन् । शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले आगामी चुनावमा प्रत्यक्ष रूपमा जनप्रतिनिधि बन्ने इच्छा रहेको बताएका हुन् ।

सिंगो कांग्रेसलाई एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ : गगन थापा
कांग्रेसका सभापति गगनकुमार थापाले एक–दुई दिनभित्र सिंगो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेको बताएका छन्। शनिबार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको उल्लेख गरे। 

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवापक्ष आइतबार सर्वाेच्च अदालत जाने
कांग्रेसका नेता डा. प्रकाशशरण महतले तथाकथित विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या नहेरी निर्वाचन आयोगले गरेको निर्णय दूषित मनसायले प्रेरित रहेको बताएका छन्। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्माण भएको गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठक बसेको थियो।

कांग्रेसद्वारा टिकट वितरणका लागि संसदीय बोर्ड गठन, गगन थापा संयोजक
कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै १३ सदस्यीय संसदीय बोर्ड बनाइएको हो, जसको संयोजकको जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ।

चालू आवको ६ महिनामा बागमती सरकारको खर्च १४ प्रतिशतमा सीमित, पुँजीगत खर्च झनै निराशाजनक
चालू आर्थिक वर्ष ०८२/८३ को आधा अवधि बितिसक्दा पनि बागमती प्रदेश सरकारको बजेट खर्च अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। पुस मसान्तसम्म प्रदेश सरकारले कुल विनियोजनको जम्मा १४ प्रतिशत मात्र खर्च गरेको छ।  प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका अनुसार प्रदेश सरकारले चालू आवमा कुल ६७ अर्ब ४७ करोड ७३ लाख बजेट विनियोजन गरेकोमा ६ महिनामा १४.२० प्रतिशत मात्रै खर्च भएको हो।

त्रिवेणी कप पुरुष भलिबलको उपाधि त्रिवेणी खेलकुद विकास समितिलाई
माघेसंक्रान्तिको अवसरमा धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी खेलकुद विकास समितिले जितेको छ। त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा चौबिसे गाउँपालिका–४ र ५ को संगमस्थल हंस मोरङमा पुरुष भलिबल प्रतियोगिता भएको थियो। 

मनोहर कप भलिबलको उपाधि आयोजकलाई
तेस्रो संस्करणको मनोहर कप क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक मनोहर क्लबले हात पारेको छ। मनोहर क्लबको आयोजनामा पोखरा–१४, मनकामना टोलस्थित खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजकले पोखरा युनाइटेडलाई २५–१६, २५–२२ र २५–१५ अंकसहित सोझो ३–० को सेटमा पाखा लगाउँदै उपाधि हात पारेको हो।

सुझावित समाचार