तेस्रो संस्करणको मनोहर कप क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक मनोहर क्लबले हात पारेको छ।
मनोहर क्लबको आयोजनामा पोखरा–१४, मनकामना टोलस्थित खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजकले पोखरा युनाइटेडलाई २५–१६, २५–२२ र २५–१५ अंकसहित सोझो ३–० को सेटमा पाखा लगाउँदै उपाधि हात पारेको हो।
१४ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उपाधिसँगै मनोहरले एक लाख ७५ हजार ५५५, दोस्रो भएको युनाइटेडले एक लाख एक हजार १११ नगदसँगै सिल्ड, मेडल र ट्रफी पुरस्कार पाउँदा अन्तिम चारमा पुगेका अन्य दुई टोली नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २०/२० हजार नगद पाए।
प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद आठ हजार र ट्रफी पुरस्कार पाउँदा विधागत रूपमा सन्दीप सुनारले वेस्ट स्पाइकर, दीपक थापाले वेस्ट डिफेन्डर, अजय सुनारले वेस्ट ब्लकर, सञ्जोक परियारले वेस्ट सर्भर, लप्सन सुनारले उदीयमान र सुमन रानाले वेस्ट प्रशिक्षक हुँदै जनही ५/५ हजार नगद पुरस्कार पाए।