नेपाली कांग्रेसले सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भएका ६ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।
शनिबार सम्पन्न बैठकले निर्वाचन आयोगको हालैको निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचनको तयारी, पूर्वसभापति शेरबहादुर देउवाको भूमिका तथा भावी राजनीतिक दिशाबारे स्पष्ट धारणा तय गरेको हो।
बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्वाचन आयोगको निर्णयलाई व्यक्तिगत हार–जितको विषय नभई विधि, कानुन र लोकतान्त्रिक अभ्यासको जितका रूपमा पार्टीले स्वीकार गरेको बताए।
बैठकले लामो समयसम्म पार्टीको नेतृत्व सम्हालेका पूर्वसभापति शेरबहादुर देउवाप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा उनको अभिभावकीय भूमिका निरन्तर रहने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी, कांग्रेसले अबदेखि अस्वाभाविक गठबन्धन तथा सत्तामुखी समझदारी नगर्ने अडान दोहोर्याएको छ। पार्टीले आफ्ना मूल्य–मान्यतामा दृढ रहँदै संविधानको संरक्षण र युवापुस्ताको अपेक्षा सम्बोधन गर्ने नीति लिएको बैठकको निष्कर्ष छ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सबै तहका समिति र भ्रातृ संगठनलाई नयाँ उत्साह र एकतासाथ चुनावी मैदानमा उत्रिन निर्देशन दिइएको छ। यसै सन्दर्भमा, विभिन्न कारणले निष्क्रिय भएका वा पार्टी छाडेका सदस्यहरूलाई पुनः कांग्रेसमा समेट्न आह्वान पनि गरिएको छ।
शुक्रबार निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिएपछि बसेको बैठकले परिवर्तनको यात्रामा साथ दिने सम्पूर्ण पक्षप्रति आभार प्रकट गरेको प्रवक्ता चालिसेले जानकारी दिए।