शुक्रबार : १० बजेसम्मका १० मुख्य खबर

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

गगन थापा पक्षलाई नेपाली कांग्रेसको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

नेपाली कांग्रेसको आधिकारिकताको विवादमा विशेष महाधिवेशन गर्ने गगन थापा पक्षलाई निर्वाचन आयोगले मान्यता दिएको छ। शुक्रबार आयोगले विशेष महाधिवेशन रितपूर्वक भएको निष्कर्षका आधारमा सो पक्षलाई आधिकारिता दिएको हो। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधरले गगन पक्षलाई आधिकारिकता दिने निर्णय गरेका हुन्। अर्का आयुक्त सगुनशमशेर जबराले भने फरक मत राखेका थिए। 

देउवा पक्षले बोलायो केन्द्रीय समिति

निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पुरानै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनअनुसार भन्दै पार्टीसचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान ८ बजेका लागि बैठक बोलाइएको सूचना जारी गरेका छन्। 

निर्वाचन आयोगले शुक्रबार गगन थापा पक्षलाई पार्टीको आधिकारिकता दिने निर्णय गरिसकेको छ। 

नवीन कांग्रेसको सुरुवात भयो, एकताबद्ध भएर अघि बढौँ : विश्वप्रकाश शर्मा

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय आगामी दिनका लागि समेत ऐतिहासिक नजिर कायम भएको बताएका छन् ।

आयोगको निर्णयपछि फेसबुक लाइभमा प्रतिक्रिया जनाउँदै शर्माले भनेका छन्, ‘कांग्रेस बिशेष महाधिवेशन आयोजना गर्न दूरदराजका गाउँमा, परदेशमा बसेर जो साथीहरूले हस्ताक्षर गर्नुभयो, माग गर्नुभयाे उहाँहरू सबैलाई बधाई दिन चाहन्छु । विधिवत प्रक्रियाअनुसार जे भएको छ, यसलाई नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुवातका रूपमा लिनुपर्छ ।

प्रदीप अधिकारीसहित सात प्रतिवादीउपर विशेष अदालतको थुनछेक आदेश बदरको माग गर्दै अख्तियारद्वारा सर्वोच्चमा निवेदन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दाका प्रतिवादीउपर विशेष अदालतले गरेको न्यून धरौटी तथा साधारण तारेखको थुनछेक आदेश बदरको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ। बेरीतको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन भन्दै अख्तियारले निवेदन पेस गरेको हो।

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको राजीनामा

काठमाडाैं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। माघ ४ गतेदेखि लागू हुने गरी उनले पद छोड्ने निर्णय गरेका हुन्।

पाण्डेले माघ ३ गतेसम्म जिम्मेवारीमा रहने स्पष्ट पार्दै भने, ‘४ गतेबाट लागू हुने गरी राजीनामा दिएको हुँ, ३ गतेसम्म बहाल रहन्छु।’

निर्वाचन प्रहरीमा युवाको आकर्षण घट्यो, कञ्चनपुरमा सशस्त्रतर्फ कोटाभन्दा कम दरखास्त

आगामी २१ फागुन ०८२ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ। निर्वाचनका लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ। तर, पछिल्ला दिनहरूमा निर्वाचन (म्यादी) प्रहरीतर्फ युवाको आकर्षण घटिरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विगत र अहिलेको तथ्यांकअनुसार यसपटकको निर्वाचनमा म्यादी प्रहरीतर्फ आकर्षण घटेको पाइएको हो। 

कालीकोटमा बोलेरो जिप भिरबाट खस्दा तीनजनाको मृत्यु

कालीकोटको सेरी–पान्तडी सडकखण्डअन्तर्गत शुभकालिका गाउँपालिका– ४, सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन्।

दुर्घटनाग्रस्त जिप सडकबाट करिब तीन सय मिटर तल तिला नदीनजिक खसेको बताइएको छ। सडक निर्माण व्यवसायी अर्जुन गौतमका अनुसार घटनास्थलनजिकै तीनजनाको शव फेला परेको हो।

सुझावित समाचार