प्रदीप अधिकारीसहित सात प्रतिवादीउपर विशेष अदालतको थुनछेक आदेश बदरको माग गर्दै अख्तियारद्वारा सर्वोच्चमा निवेदन

न्यून धरौटी र साधारण तारेखको थुनछेक आदेश बदरको माग

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दाका प्रतिवादीउपर विशेष अदालतले गरेको न्यून धरौटी तथा साधारण तारेखको थुनछेक आदेश बदरको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ। बेरीतको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन भन्दै अख्तियारले निवेदन पेस गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको खरिद तथा निर्माण प्रक्रियामा आठ अर्ब ३६ लाख ७३ हजार ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले त्यसमा संलग्न तत्कालीन पाँच पर्यटनमन्त्री, १० पूर्वसचिवसहित ५५ जना व्यक्ति र ठेकेदार कम्पनीविरुद्ध गत २१ मंसिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तर, थुनछेक बहसका क्रममा मुद्दाका प्रतिवादीसँग न्यून धरौटी र साधारण तारेखको आदेश गरेको भन्दै अख्तियार त्यसविरुद्ध सर्वोच्च गएको हो। 

विशेष अदालतले मुद्दाका प्रतिवादी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई पाँच लाख र मुरारी भण्डारीलाई एक लाख धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी गत २३ मंसिरमा आदेश गरेको थियो। अधिकारी अहिले डिल्लीबजार कारागारमा छन्।

त्यस्तै, प्रतिवादीहरू अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय र महेशकुमार बस्नेतलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी गत १६ पुसमा अर्को आदेश गरेको थियो। नारायण गिरीलाई २४ पुस र बाबुराम पौडेललाई २९ पुसमा साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी थुनछेक आदेश गरेको थियो।

उनीहरू सबैविरुद्ध जनही आठ अर्ब ३६ लाख ७३ हजार ५५ हजार २९७ रुपैयाँ बिगो अख्तियारले कायम गरेको थियो। ती आदेशहरू बेरीतको देखिएको अख्तियारको दाबी छ।

प्राधिकरणका महानिर्देशकसहित प्रतिवादीहरू बस्नेत, सुवेदी, उपाध्याय, भण्डारी, गिरी र पौडेललाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ङ) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गतको दफा ७३ र न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम सर्वोच्च अदालतमा अख्तियारले निवेदनपत्र दर्ता गरेको छ। थुनछेक आदेश बेरीत भएको विभिन्न सातवटा आधार तथा कारण अख्तियारले पेस गरेको छ।

‘विशेष अदालतबाट थुनछेक आदेश गर्दा अपराधको प्रकृति र गाम्भीर्यता, कसुरमा प्रतिवादीहरूको संलग्नता, कसुर गर्दाको परिस्थिति, प्रतिवादीहरूले प्रमाण लोप गर्न र नयाँ कृत्रिम प्रमाण सिर्जना गर्न सक्ने अवस्था, पीडित तथा साक्षीको सुरक्षा, घटनाले समाजमा पारेको प्रभाव एवं सामाजिक आक्रोश, अदालतमा प्रतिवादीहरूको उपस्थितिको सुनिश्चितता, निजहरूलाई हुन सक्ने सजाय एवं फैसला कार्यान्वयनको अवस्था, स्वेच्छाचारी सरकारी कामकारबाहीको नियन्त्रणसमेतका सिद्धान्तलाई मध्यनजर गरी सोमा अनुपातिक न्याय, प्रतिवादीहरूको कसुरमा संलग्नता र निजहरूविरुद्धको प्रमाणबिच समान व्याख्या एवं मूल्यांकन कायम गरी थुनछेक आदेश गर्नुपर्नेमा प्रतिवादीविरुद्धका प्रमाण एवं निजले स्वीकार गरेको तथ्यलाई नजरअन्दाज गरी हचुवा रूपमा केही प्रतिवादीहरूको हकमा बिगोको तुलनामा अत्यन्त न्यून माग गर्ने तथा अन्य केही प्रतिवादीहरूको हकमा साधारण तारेखमा राख्ने गरी भएको आदेश बेरीतको भई त्रुटिपूर्ण देखिएको,’ अख्तियारको निवेदनमा उल्लेख छ।

सुझावित समाचार