नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्दरचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबिच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको छ।
नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, संघर्ष, सेवाभावलाई सजीव रूपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरूले दिनानु दिन भोग्दै आएको संघर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाका लागि गरिएको निस्वार्थ सेवाको चित्रणसहितको भाव गीतमा प्रस्तुत गरिएको छ ।
गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उनले प्रत्यक्ष अवलोकन र अनुभूत गरेका विषयहरूलाई समेत प्रस्तुत गरिएको छ ।
यस गीतमा दीपक शर्माको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ–मास्टरिङ रहेको छ । गायक थानेश्वर गौतम, शान्तिश्री परियार, समीर खरेल, सदीच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सूर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदीप पट्टेल, कृतिका बस्नेतलगायतका कलाकारहरूले अभिनय गरेका छन्। मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायांकन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ ।