कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। पोखरामा आज सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको संस्थाको आव ०८१/०८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो।
बोनस सेयर जारीपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार पाँच सय ३५ रुपैयाँ २४ पैसा हुनेछ। सभाले संस्थाका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।
वित्तीय संस्थाको हाल कायम कुल पुँजी संरचनामा संस्थापक समूहको सेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ३५.४८ रहेकोमा संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४५.४८ प्रतिशत कायम रहने गरी संस्थापक समूहको सेयर स्वामित्वबाट १० प्रतिशत सेयर सर्वसाधारण समूहको सेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको हो।