जनसंख्या र भूगोलको दृष्टिकोणले जिल्लाकै सबैभन्दा ठुलो सिराहाको लहान नगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच अभियान थालेको छ। सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यको जाँच गरी आवश्यक सुझाव र परामर्श दिने गरी अभियान थालिएको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए। ‘विशेष शारीरिक अवस्थाका सुत्केरी र नवजात शिशुको स्वास्थ्य सबल राख्न अभियान थालिएको हो,’ उनले भने ।
अभियान सञ्चालनका लागि उनले आफ्नै कार्यकक्षमा नगर क्षेत्रअन्तर्गत १२ वटा स्वास्थ्य केन्द्रका नर्सिङ कर्मचारीहरूलाई बुधबार बिपी सेट, स्टेथेस्कोप र झोलालगायत सामग्री हस्तान्तरण गरे । नगर क्षेत्रमा रहेका स्वास्थ्य चौकीअन्तर्गत पर्ने सेवा क्षेत्रका सुत्केरी, नवजात शिशुको स्वास्थ्य जाँचसहित आवश्यक परामर्शका लागि नर्सिङ कर्मचारी घर-घरमै पठाउने व्यवस्था मिलाइएको उनले बताए ।
उनका अनुसार यातायातको सहज उपलब्धता नरहेका ग्रामीण भेगका सुत्केरीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो। सुत्केरी आमा वा नवजात शिशुको समयमै स्वास्थ्य जाँच, उपचार र आवश्यक परामर्शको अभावमा स्वास्थ्य बिग्रिन नपाओस् भन्ने उद्देश्यले अभियान थालिएको उनले बताए।
नगर स्वास्थ्य शाखा प्रमुख सिअहेव अधिकृत बिन्देश्वर चौधरीका अनुसार सुत्केरी भएपछि हरेक महिला र नवजात शिशुको २४ घण्टा, तीन दिन, सातदेखि १४ दिन र ४२ दिनमा गरी चारपटक स्वास्थ्य जाँच गरिनुपर्छ । ‘सुत्केरीहरू स्वास्थ्य जाँचका लागि नवजात शिशुसहित नजिकको स्वास्थ्य संस्थामा पुग्न पनि कठिनाइ हुने गरेको पाइएको छ,’ उनले भने, ‘अभियानअन्तर्गत सुत्केरीको रक्तचाप, ज्वरो, शिशुको समेत संक्रमणको जाँचसहित आवश्यक परामर्श दिइनेछ।’
नगरपालिकाले पछिल्लो करिब चार वर्षदेखि हरेक महिनाको २२ गते २४ वटा वडा क्षेत्रमा आलोपालो ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज’ अन्तर्गत पोषणयुक्त खानेकुरासमेत वितरण गर्दै आएको छ। घरमै असुरक्षित रूपले गराइने प्रसूति निरुत्साहित गर्न प्रोटोकलअनुसार गर्भजाँच, त्यस्तो अवस्थामा पोषणयुक्त खानेकुराको सेवन, गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा स्वास्थ्य चौकीसहित गाउँघर क्लिनिकमार्फत परामर्श दिइने गरिएको स्वास्थ्य शाखाले जनाएको छ।