पोखराको लालीगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय लिगमा मोफसलबाट प्रतिस्पर्धा गर्न लागेको पोखराको लालीगुराँस एसोसिएसनलाई नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले साथ दिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि लिग सुरु भएको हो । लिगमा प्रेसिडेन्ट कप च्याम्पियनको हैसियतले पोखराको लालिगुरासले प्रतिस्पर्धा गर्न पाएको हो । 

१७ टोलीले प्रतिस्पर्धा गर्ने लिगमा ए डिभिजनका १३ टोलीसँगै प्रेसिडेन्ट कपमा शीर्ष चारमा परेको टोली रहेका छन् । कास्की जिल्ला र प्रदेश लिगको उपाधि चुम्दै हेटौंडामा सम्पन्न प्रेसिडेण्ट कपको उपाधि जितेर लालीगुराँसले लिगको यात्रा तय गर्न सफल भएको हो । पोखरा महानगरपालिका–१२ मा रहेको लालीगुराँस एसोसिएसन क्लब ०६९ सालदेखि सामाजिक कामसँगै फुटबलमा सक्रिय रहँदै आएको छ ।

लिगमा पहिलोपटक सहभागी हुन लागेको लालीगुराँसलाई पोखरा एभेन्जर्सले विदेशी खेलाडीहरू आवद्ध गर्नसँगै टोलीलाई बलियो बनाउन सहयोग गर्ने भएको छ । पोखरा एभेन्जर्सले सहयोग गरे बापत लालीगुराँसका खेलाडीहरूको जर्सीको पछाडि भागमा जर्सी नम्बर, तल पोखरा एभेन्जर्स लेख्ने गरी सहमति भएको हो ।

लालिगुराँसका अध्यक्ष डम्बर गुरुङले मोफसलका क्लबहरूका लागि तीन महिना राजधानीमा गएर खेल्न आर्थिक रुपमा कठिन हुने अवस्था रहेकोमा पोखरा एभेन्जर्ससँगको सहकार्यले केही राहतसँगै टोलीलाई समेत उत्साहित बनाएको बताए । लिगका लागि करिब एक करोड रुपैयाँ खर्च हुने उनले बताए । यसअघि एन्फा प्रेसिडेण्ट कपको क्रममा सहयोगी, शुभेच्छुकसँगै केही ऋण गरी ५० लाखको हाराहारीमा खर्च भएको अध्यक्ष गुरुङको भनाइ छ । 

क्लबका महासचिव ईश्वर बस्यालकाअनुसार लिगमा सहभागी नहुँदा एन्फाले कारवाही गर्ने भएकाले प्रतियोगिताको लागि आवश्यक बजेट अभाव हँुदाहुँदै पनि सबैको साथ र सहयोगले अघि बढेको बताए । 

खेल फरक भए पनि दुवैको क्षेत्र एउटै भएकाले क्रस स्पोट्र्स कल्चर विकास गर्नेसँगै एकले अर्कोलाई सहयोग गर्नुपर्ने र सँगसँगै अगाडि बढ्नुपर्ने लक्ष्यका साथ सहकार्य गरेको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए । उनले भने, ‘हामी दुवै क्लब गण्डकी प्रदेशभित्रका हौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग मार्फत नेपालको क्रिकेट विकासमा योगदान दिइरहेको छ । लालिगुराँस पनि यही क्षेत्रको भएकोले हामीले सहयोग गरेका हौँ ।’ लालिगुराँसले आफ्नो पहिलो खेलमा बिहीबार जावलाखेल युथ क्लबसँग भिड्ँदैछ । 
 

सुझावित समाचार