बर्दियामा घाइते अवस्थामा फेला परेको चितुवाको उपचारको क्रममा मृत्यु भएको छ । राजापुर नगरपालिका– १०, कर्मोनीमा घाइते अवस्थामा फेला परेको चितुवाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते चितुवाले पुस १२ गते राति स्थानीय हेमराज बुढाथोकीलाई आक्रमण गरेर घाइते बनाएको थियो ।
घाइते अवस्थामा पुस १३ गते बिहानै गहुँबारीमा चितुवा देखेपछि स्थानीय, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले चितुवा नियन्त्रणमा लिएको थियो ।
घाइते चितुवाको उपचार डिभिजन वन कार्यालयमा राखेर उपचार हुँदै थियो । उपचारको क्रममा सोमबार चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत रामगोपाल चौधरीले जानकारी दिए । उनले भने, ‘उपचारको क्रममा मृत्यु भएको चितुवाको पोस्टमार्टम गरी मंगलबार गाडिएको छ ।’