बंगलादेश प्रिमियर लिग (टी–२० फ्रेन्चाइज)मा रेकर्ड बनेको छ । अफगानिस्तानका क्रिकेटर मोहमद नाबी र उनका छोरा हसन इसाखीले एकै टोलीबाट खेल्नै दुर्लभ रेकर्ड राखेका हुन् । क्रिकेट इतिहासमा अहिलेसम्म बुबा र छोरा एकै टोलीबाट प्रतिस्पर्धा गरेको पहिलोपटक हो । फ्रेन्चाइज टोली नोखाली एक्सप्रेसमा यस सिजनका लागि नाबी र हसन आबद्ध भएका हुन् । लिगको २२औँ खेलमा दुवैले ढाका क्यापिटल्सविरुद्ध मैदान उत्रिँता इतिहास बन्यो । महŒवपूर्ण पक्ष के रह्यो भने नाबीले नै आफ्ना छोरा हसनलाई डेब्यु क्याप प्रदान गरेका थिए ।
बंगलादेश प्रिमियर लिगमा आफ्नो डेब्यु खेलमै हसनले म्यान अफ दी म्याचको ट्रफीसमेत हात पारे । ढाका क्यापिटल्सविरुद्ध ब्याटिङ गरेको एक्सप्रेसका लागि हसनले ६० बलमा ९२ रनको योगदान दिए । सो खेलमा ढाका क्यापिटल्स ४१ रनले पराजित भएको भएको थियो । हसनले सात चौका र पाँच छक्का प्रहार गरे ।
हसनको प्रदर्शनमा नाबी दंग
बंगलादेश प्रिमियर लिगमा डेब्यु खेलमै आफ्ना छोरा हसनले उत्कृष्ट प्रदर्शन गरेपछि बुबा नाबी दंग छन् । उनले क्रिजमा छोरासँगै ब्याटिङ गरिरहँदा सामान्य रूपमा लिएको बताएका छन् । ‘समाजको नजरमा हामी बुबा र छोरा हौँ तर वास्तविकमा भने हामी साथीजस्तै हौँ,’ नाबीले खेलपछि भनेका छन्, ‘ब्याटिङको क्रममा मैले उसलाई केही पनि भनिनँ ।’ हसनलाई प्रारम्भिक क्रिकेटको पाठ नाबीले नै दिएका हुन् । प्रशिक्षणको क्रममा हसनले आफूलाई कहिले पनि निराश नबनाएको नाबीको भनाइ छ । ‘पक्कै पनि छोरा हसनको पहिलो गुरु म हुँ,’ उनले भने, ‘सधैँ माथिल्लो स्तरमा क्रिकेट खेल्ने भन्थे आज छोराको सपना पूरा भएको छ ।’ १९ वर्षीया हसनले ढाका क्यापिटल्सविरुद्ध उत्कृष्ट स्ट्रोक लगाउँदा अच्चम्म लागेको नाबीले बताए ।
छोरासँगै खेल्ने नाबीको सपना पूरा
नाबीले कुनै पनि फ्रेन्चाइज लिगमा छोरा हसनसँगै ब्याटिङ गर्ने सपना बुनेका थिए । उनको सपना छिट्टै पूरा भयो पनि । नाबी भन्छन्, ‘वास्तवमा म आज निकै खुसी छु । वर्षौँदेखि छोरासँगै क्रिकेट खेल्ने सपना पूरा भएको छ । व्यावसायिक क्रिकेटका लागि उसलाई सानैदेखि तयार गरेको थिएँ ।’ प्रतिस्पर्धाको अघिल्लो दिन बुबा र छोराबिच ९० मिनेट छलफल चलेको थियो । डेब्युको अवसर पाउँदा कसरी खेल्ने र आफूलाई कसरी नियन्त्रणमा राख्ने भन्ने नाबीले छोरालाई टिप्स दिएका थिए । ‘हामीबिच डेढ घण्टा छलफल भएको थियो । बंगलादेशको पिचबारे राम्रो जानकारी भएका कारण अवस्थाअनुसार खेल्न सिकाएँ,’ नाबीले भने, ‘डेब्यु खेलमै हसनले उत्कृष्ट खेल प्रदर्शन गरेको देख्दा म भाव विह्वल भएँ ।’
तीन बलको अन्तरमा बुबा र छोरा आउट
पहिलो ब्याटिङ गरेको नोखाली एक्सपे्रसले २० ओभरमा सात विकेट गुमाएर १८४ रन बनाएको थियो । प्रत्युत्तरमा ढाका क्यापिटल्स १८.२ ओभरमा १४३ रनमा अलआउट भएको थियो । नोखाली एक्सपे्रसको ब्याटिङमा बुबा नाबी र छोरा हसनले चौथो विकेटका लागि साझेदारीसमेत गरे । उनीहरूबिच ५३ रनको साझेदारी भएको थियो । नाबीले १३ बलमा १७ रनको योगदान दिँदा दुई चौका प्रहार गरेका थिए । संयोग कस्तो रह्यो भने उनीहरू केवल तीन बलको अन्तरमा पेभेलियन फर्केका थिए । इनिङ्सको १७.६ ओभरमा नाबी र १८.२ ओभरमा हसन आउट भएका थिए । हसन आउट हुँदा एक्सप्रेस १७२–५ को अवस्थामा थियो । बलिङ क्रममा नाबीले चार ओभरमा २३ रन खर्चेर दुई विकेट हात पारे ।