सोमबार : १० बजेसम्मका १० मुख्य खबर

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

कांग्रेसको विशेष महाधिवेशन लम्बियो, महामन्त्रीद्वयलाई बोलाएर छलफल गर्ने देउवाको तयारी
कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्मका लागि लम्बिएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल नसकिएपछि महाधिवेशन लम्बिएको हो। बन्दसत्रले भोलि मात्र नयाँ नेतृत्व चयनबारे निर्णय गर्ने भएको छ। महामन्त्रीद्वयको प्रतिवेदनमाथि छलफलन नसकिएपछि विशेष महाधिवेशन मंगलबारसम्मका लागि लम्बिएको प्रचारप्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए।

सातै प्रदेशका सभापतिसहित कांग्रेसले बोलायो केन्द्रीय समिति 
कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिलाई बोलाइएको छ। विशेष महाधिवेशनका कारण पार्टी विभाजनको जोखिम बढिरहेका वेला बैठक बोलाइएको हो। 

कल्याणपुरका मेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद सजाय
सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मेयर साहलाई दोषी ठहर गरेको हो। दोषी ठहर साहलाई अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख जरिवाना र सोही उपदफाको (ख) बमोजिम ६ महिना कैद सजाय सुनाएको छ ।

राष्ट्रिय सभा निर्वाचन : बागमतीका ६ उम्मेदवारलाई चुनाव चिह्न प्रदान
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशतर्फका दुई सिटमा उम्मेदवारी दर्ता गराएका ६ जना उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ ।
निर्वाचन प्रक्रियाअन्तर्गत बागमती प्रदेश निर्वाचन कार्यालयले सोमबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामावलीमा कायम रहेका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो । 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
सरकारले आगामी पाँच वर्षका लागि लागू हुने वित्तीय क्षेत्र विकास रणनीतिलाई स्वीकृति दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक, सामाजिक र संस्थागत विषयसँग सम्बन्धित विभिन्न ६ वटा निर्णय गरेको हो। बैठकले आर्थिक प्रणाली सुदृढीकरणदेखि मानव बेचबिखनविरुद्धको नीति र अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी विषयमा निर्णयहरू गरेको सरकारका स्रोतले जनाएको छ।

विशेष महाधिवेशन चलिरहँदा पूर्णबहादुरले भने– पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्नू
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी गतिविधिमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन्। भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सोमबार विज्ञप्ति जारी गर्दै खड्काले एकताका साथ अघि बढ्न अपिल गरेका हुन्।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा अनदेखा हुँदैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता कार्यान्वयनको सन्दर्भमा कुनै पनि मोलाहिजा गर्ने छुट नरहेको प्रस्ट पारेका छन्।  प्रतिनिधिसभा सदस्य निर्वाचनका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीका लागि गरिएको निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन्।

बालाजुबाट भन्सार छलीका चार सय बोरा युरिया मल र ६० बोरा मकैसहित चालक नियन्त्रणमा
काठमाडौं महानगरपालिका– १६, बालाजु पुलनजिकबाट भन्सार छली गरी ल्याइएका ठुलो परिमाणको मल र मकैसहित एक मालवाहक ट्रक तथा चालकलाई नियन्त्रणमा लिइएको छ।  गोप्य सूचनाको आधारमा ना.६ख ७०११ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बाहिरतर्फ मकैका बोरा राखी भित्रतर्फ लुकाइछिपाइ राखिएको अवस्थामा चार सय बोरा युरिया मल र ६० बोरा मकै फेला परेको प्रहरीले जनाएको छ।

एन्फा निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश 
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई यही २८ माघमा झापामा गर्ने भनिएको चुनावी साधारणसभाका सबै प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  सोमबार उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल एजलासले आगामी ६ माघमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ । सो मितिसम्म निर्वाचनका सबै प्रक्रिया स्थगनमा राख्न आदेश दिएको छ ।

१०औँ पोखरा स्पोर्टस् अवार्ड आगामी १८ वैशाखमा 
१०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड–०८२ आउँदो १८ वैशाख ०८३ मा हुने भएको छ । सोमबार बसेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अवार्डको मिति तय गरेको हो। आयोजक मञ्चका अध्यक्ष एमबी आस्था मगरका अनुसार कार्यक्रममा गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था, पत्रकारसहित विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ।

सुझावित समाचार