काठमाडौं महानगरपालिका– १६, बालाजु पुलनजिकबाट भन्सार छली गरी ल्याइएका ठुलो परिमाणकाे मल र मकैसहित एक मालवाहक ट्रक तथा चालकलाई नियन्त्रणमा लिइएको छ।
गोप्य सूचनाको आधारमा ना.६ख ७०११ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बाहिरतर्फ मकैका बोरा राखी भित्रतर्फ लुकाइछिपाइ राखिएको अवस्थामा चार सय बोरा युरिया मल र ६० बोरा मकै फेला परेको प्रहरीले जनाएको छ। बरामद युरिया मल चार सय बोरामा प्रतिबोरा ४५ किलोका दरले रहेको छ भने मकै ६० बोरामा प्रतिबोरा ५० किलोका दरले रहेको छ।
ट्रकचालक जिल्ला रौतहट, वृद्धावन नगरपालिका– ६ का करिब २५ वर्षीय राजकुमार महताेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद गरिएको सामानसहित ट्रक र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ।