सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मेयर साहलाई दोषी ठहर गरेको हो।
दोषी ठहर साहलाई अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख जरिवाना र सोही उपदफाको (ख) बमोजिम ६ महिना कैद सजाय सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले मेयर साहलाई गत असार ३२ मा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो। कल्याणपुर नगरपालिका– ६ मा नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग मेयर साहले घुस लिएका थिए। सेवाग्राहीसँग घुस लिएको आरोपसहित अख्तियारले गत साउन २३ मा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।
अख्तियारले बयान फेरेको भन्दै मंसिर २६ मा उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। विशेषले जसोधालाई भने सफाइ दिएको छ। जसोधाको संलग्नता स्थापित हुने पर्याप्त प्रमाण नदेखिएको भन्दै उनलाई अदालतले सफाइ दिएको हो।

