मध्यपूर्वमा उपेक्षित बन्दै जलवायु परिवर्तनको मुद्दा

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

मध्यपूर्वका धेरै देश द्वन्द्वमा फसेसँगै यस क्षेत्रले तीव्र राजनीतिक र आर्थिक उथलपुथलको अनुभव गरिरहेको छ । यी द्वन्द्व बढ्दो जलवायु संकटको पृष्ठभूमिमा भइरहेका छन् । कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसको विश्वव्यापी थिंकट्यांकले निष्कर्ष निकालेको छ कि मध्यपूर्वी देशहरू ‘मानवसिर्जित जलवायु परिवर्तनको तीव्र प्रभावका लागि विश्वको सबैभन्दा बढी जोखिममा रहेका राज्यहरूमध्ये एक हुन्, जसमा बढ्दो गर्मीको लहर, घट्दो वर्षा, विस्तारित खडेरी, तीव्र आँधी, बाढी, र बढ्दो समुद्री सतह’ समावेश छ ।

जलवायु सम्बन्धित जानकारी प्राप्त गर्ने, प्रशोधन गर्ने र कार्यान्वयन गर्ने समाजको क्षमता प्रभावकारी जलवायु परिवर्तन प्रतिक्रियाको मुटुमा छ । जलवायुका क्षेत्रमा मिडियाले महŒवपूर्ण भूमिका खेल्छ । यो जलवायु परिवर्तन र समुदायको सुरक्षामा यसको सम्बन्धको सार्वजनिक बुझाइलाई अगाडि बढाउने महत्वपूर्ण माध्यम हो । तैपनि, विगत दुई दशक वा सोभन्दा बढी समयदेखि मध्यपूर्वमा जलवायु परिवर्तनबारे मिडिया कभरेज विश्वमा सबैभन्दा कम रहेको छ । युनिभर्सिटी अफ कोलोराडो बोल्डरको मिडिया एन्ड क्लाइमेट चेन्ज अब्जरभेटरीका अनुसार मध्यपूर्वका प्रत्येक मिडिया संस्थाले एक महिनामा जलवायु परिवर्तनबारेमा औसतमा लगभग एउटा लेख उत्पादन गरे जबकि सोही अवधिमा ती विषयमा उत्तर अमेरिकी मिडियामा ६६ लेख प्रकाशित भए ।

यसबाट नै मध्यपूर्वमा सञ्चारमाध्यममा जलवायु विषयलाई कति थोरै महत्व दिइन्छ भन्ने पुष्टि हुन्छ । मध्यपूर्वमा जलवायु कभरेजको अभाव त्यहाँका मिडिया आउटलेटले धेरै संरचनात्मक समस्याको सामना गर्नुको कारण हो । जब सशस्त्र द्वन्द्व नियन्त्रणबाहिर जान्छन् वा सार्वजनिक बहसलाई बढी दबाबपूर्ण मानिने मुद्दाहरूले एकाधिकार बनाउँछन् तब जलवायु परिवर्तनका बारेमा कसरी कुरा गर्ने ? जोर्डनले यी चुनौती बुझ्न र त्यसलाई पार लगाउन हामीलाई महŒवपूर्ण उदाहरण पेस गरेको छ । 

विगत दुई दशकयता मध्यपूर्वका देशमा जलवायु परिवर्तनका मुद्दामा मिडिया कभरेज विश्वमा सबैभन्दा न्यून छ 

जोर्डनले लामो समयदेखि मध्यपूर्वमा स्थिरीकरणको भूमिका खेल्दै आएको छ । यसले छिमेकी द्वन्द्वबाट ठुलो संख्यामा शरणार्थीलाई स्वीकार गरेको छ र मध्यपूर्वी प्रतिद्वन्द्वीबिच मध्यस्थकर्ता र शान्ति वार्ताकारका रूपमा काम गरेको छ । यद्यपि, जलवायु परिवर्तनले जोर्डनको स्थिरतालाई खतरामा पारिरहेको छ । जोर्डनका पानी तथा सिँचाइमन्त्री राएद अबु साउदले मे २०२५ मा भनेका थिए– ‘जोर्डन विश्वको सबैभन्दा गम्भीर पानी संकटसँग जुधिरहेको छ, प्रतिव्यक्ति पानीको उपलब्धता प्रतिवर्ष केवल ६० घन मिटरमा झरेको छ । अन्य धेरै कारकले स्थितिलाई बिगारिरहेका छन् । जोर्डनमा आर्थिक पछौटेपनले निरन्तर बेरोजगारी र सार्वजनिक अशान्ति निम्त्याइरहेको छ, जबकि क्षेत्रीय द्वन्द्वले सामाजिक एकतालाई कमजोर बनाइरहेका छन् ।

जोर्डनले जलवायु परिवर्तनले सिर्जित जोखिमलाई कसरी प्रतिक्रिया दिन्छ र यसको स्थिरतालाई कसरी जोगाउँछ भन्ने कुरा मध्यपूर्व र बाहिरका लागि अत्यन्त महŒवपूर्ण छ । यस चुनौतीको सार्वजनिक बुझाइ प्रभावकारी प्रतिक्रियाको लागि निर्णायक हुनेछ । र, यहाँ मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । जोर्डनमा जलवायु परिवर्तनसम्बन्धी हाम्रो अनुसन्धानमा देशका प्रमुख छापा माध्यममा प्रकाशित दुई हजार पाँच सयभन्दा बढी समाचार लेखहरूको विश्लेषण र स्थानीय मानिससँग व्यापक अन्तर्वार्ता समावेश छन् । हामीले पत्ता लगाएका छौँ कि देशमा जलवायु परिवर्तन अझ महत्वपूर्ण विषय बन्दै गइरहेको भए पनि त्यहाँ प्रस्ट जलवायु परिवर्तन छलफललाई रोक्न अझै धेरै अवरोध छन् । 

द्वन्द्वबाट प्रभावित अन्य धेरै देशमा जस्तै जोर्डनमा पनि जलवायु परिवर्तनसँग सम्बन्धित कुराकानी अन्य संकटहरू देखा पर्दा पृष्ठभूमिमा धकेल्नु सामान्य कुरा हो । सन् २०२३ देखि गाजामा युद्ध सुरु भएदेखि जोर्डनका सञ्चार माध्यमहरू जलवायु परिवर्तनलाई कम महत्व दिँदै त्यहाँको मानवीय संकटलाई समेटेका छन् । यो तथ्यले पनि जोर्डनमा धेरै कम पत्रकारले मात्र जलवायुसम्बन्धी मुद्दालाई समेटेको पुष्टि गर्छ । जलवायु पत्रकारको अभाव मध्यपूर्वमा एक सामान्य समस्या हो । जब जोर्डनका मिडियाले जलवायु परिवर्तनलाई कभर गर्छन्, यसलाई प्रायः भूराजनीतिक खतराको रूपमा छलफल गरिन्छ । विदेशी शरणार्थीलाई स्वागत गर्ने देशको नीतिका कारण जोर्डनका मिडिया आउटलेटहरूले प्रायः आफ्नो देशलाई सिरियाको गृहयुद्ध र जटिल इजरायल–प्यालेस्टाइन द्वन्द्वको ‘दोस्रो पीडित’को रूपमा चित्रण गरेका छन् । शरणार्थी समस्यालाई अर्को तनावको रूपमा चित्रण गरिन्छ ।

जोर्डनमा जलवायु परिवर्तनको बहस विदेशी सरकारहरू, परोपकारी संस्था र कोष निकायसहित अन्तर्राष्ट्रिय साझेदारहरूबाट धेरै प्रभावित हुने गर्छ । त्यसो त जोर्डनमा जलवायु परिवर्तनमा केन्द्रित असंख्य शैक्षिक र व्यावसायिक पाठ्यक्रम उपलब्ध छन् , जसलाई अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाले वित्तीय सहयोग प्रदान गरेका छन् । यस कार्यले जलवायु परिवर्तनसम्बन्धी छलफलको प्रगतिलाई सहज बनाए पनि यसले स्थानीय सन्दर्भ र ज्ञानका दृष्टिले जलवायु कभरेजको पहँुचलाई टाढा बनाएको छ । यदि बाह्य साझेदारहरूले जोर्डनवासीहरूलाई जोर्डनले सामना गर्ने विशिष्ट चुनौतीलाई पूर्ण रूपमा नबुझी उनीहरूले विश्वास गर्ने कुरा मात्र ‘सिकाउँछन्’ भने यसको दीर्घकालीन प्रभाव देखिनेछैन ।

यसले जोर्डनवासी र यी विदेशी साझेदारबिचको विश्वासलाई पनि कमजोर बनाउन सक्छ । हामीले अध्ययन गरेका केही घटनामा जोर्डनका सञ्चारमाध्यमले जलवायु परिवर्तनलाई विकासशील देशलाई नियन्त्रण गर्ने उद्देश्यले पश्चिमाले लादेको एजेन्डाको एक अंशको रूपमा देखिन्छ । जोर्डन मध्यपूर्व, युरोप र बाहिरका लागि अत्यन्त महत्वपूर्ण छ । 
द कन्भर्सेसनबाट

सुझावित समाचार