पैसा फिर्ता नगरे कारबाही गर्ने शिक्षा मन्त्रालयको तयारी

कलेज सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्न र सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनहरूको माग

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

विद्यार्थीलाई इन्टर्नसिपका नाममा विदेश पठाएर ठगी गरेको भन्दै शिक्षा मन्त्रालयले दी ब्रिटिस कलेजलाई कारबाहीको तयारी गरेको छ । शिक्षामन्त्री महावीर पुनले छानबिन गर्दा कलेजकै लापरबाही र कमजोरी भेटिएको बताए । कलेजले विद्यार्थीसँग पैसा असुल्न विभिन्न लोभलालच देखाएको र सम्झौता गरेभन्दा फरक ढंगले दुबईमा इन्टर्नसिपमा पठाएको उनको भनाइ छ । 

मन्त्री पुनका अनुसार कलेजले विद्यार्थीलाई विदेश पठाएर अलपत्र पारेको स्विकारिसकेको छ । ‘छानबिन गर्दा कलेजको नै कमजोरी देखियो, अब विद्यार्थीको पैसा फिर्ता गर्नुहोस् तथा अन्य कमजोरी सल्टाउन भनेर निर्देशन दिइसकेका छौँ,’ उनले भने, ‘छानबिनमा कलेजकै दोष भेटाएपछि उनीहरू तर्सिएका हुन् । अहिले उनीहरूले विद्यार्थी फकाउन थालेका छन् । कलेजले विद्यार्थीलाई इन्टर्नसिप र विदेशको सपना देखाएर भर्ना गरेको र शुल्क लिएको रहेछ । विद्यार्थीलाई झुक्याएर मार्केटिङ गरेको पाइयो । यदि उसले आफूले गरेको गल्ती महसुस गरेन भने थप एक्सन लिन्छौँ ।’ 

ठगिएका विद्यार्थी एक महिनाअघिदेखि नै शिक्षा मन्त्रालय धाउन थालेको मन्त्री पुनले बताए । पहिलो चरणमा मन्त्रालयले विद्यार्थीसँग विवरण संकलन गरेको थियो । दोस्रो चरणमा २३ पुसमा विद्यार्थी र कलेज प्रशासनलाई सँगै राखेर छलफल गरेको थियो । साथै, मन्त्रालयले कलेज र विद्यार्थीसँग त्यससँग सम्बन्धित कागजात माग गरेर छानबिनसमेत गरेको थियो । शुक्रबार छानबिन सकिएपछि शिक्षामन्त्री पुुनले विद्यार्थी र कलेज प्रशासनलाई सँगै राखेर दुई पक्ष मिल्न र विद्यार्थीलाई न्याय हुने गरी सम्झौता गर्न कलेज प्रशासनलाई निर्देशन दिएका थिए ।

ब्रिटिस कलेजले गत २३ भदौमा होटेल म्यानेजमेन्टका १९ विद्यार्थीलाई दुबई पठाएर अलपत्र पारेको थियो । विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि भन्दै पैसा असुलेर दुबईमा अलपत्र पारेको भन्दै अभिभावकहरूले १५ पुसमा कलेजको गेट तोडफोडसमेत गरेका थिए । कलेजले एउटा काम भनेर दुबई पु¥याएको र त्यहाँ पुगेपछि भनेजस्तो काम नभएपछि १० विद्यार्थी १५ मंसिरमा नेपाल फर्किएका थिए । उनीहरूले कलेजले इन्टर्नसिपको नाममा तनाव दिएको भन्दै शिक्षा मन्त्रालयमा निवेदन दिएका दिए । 

कलेजको कमजोरी देखिएपछि विद्यार्थीको पैसा फिर्ता गर्नेलगायतको निर्देशन शिक्षा मन्त्रालयले दिएको छ । अन्य नौजना भने आफैँले अन्यत्र काम खोजेर उतै छन् । नेपाल फर्किएर आउन थप खर्च लाग्ने भएकाले उनीहरू गएको पैसा र टिकट शुल्क उठाउन काममा लागेका हुन् । कलेजले दुबई लैजान प्रतिविद्यार्थी सात लाख रुपैयाँ लिएको थियो । कलेजले इन्टर्नसिप सकिएपछि त्यहीँबाट बेलायत जान पाइने भनेर विद्यार्थीलाई प्रलोभनसमेत देखाएको थियो । ब्रिटिस कलेज विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज हो । यसबारे कुरा गर्न खोज्दा कलेज प्रशासन सम्पर्कमै आएन ।

दुबईको पाँचतारे होटेलमा इन्टर्न गराउने सम्झौता 
विद्यार्थीलाई भर्ना गर्ने क्रममै कलेजले दुबईको पाँचतारे होटेलमा इन्टर्न गराउने भनेर सम्झौता गरेको थियो । सोहीअनुसार भदौमा उनीहरूलाई दुबई पठाएको थियो । तर, दुबई पुग्दा कलेजले भनेजस्तो थिएन । विद्यार्थीलाई भनिएजस्तो होटेल थिएन । त्यहाँ गएर उनीहरूलाई उल्टै खोजेर काम गर्नुपर्ने भयो । कलेजले नाम दिएको होटेलसँग कुनै पनि सम्झौता गरेको थिएन ।

जबकि विद्यार्थीलाई त्यहाँको पाँचतारे होटेल भनेर मार्केटिङ गरेको थियो । भनेअनुसारको काम नभएको, तल्लो स्तरको काममा लगाएको, श्रमिक परिचयपत्र बनाएर आफैँ काम खोज भनेर उल्टै कलेजले धम्क्याएपछि दुबई पुगेका विद्यार्थी आफ्नै पैसा नेपाल फर्किएका थिए । कतिपय हवाई भाडा नभएकाहरू उतै काम खोजेर बसेका छन् । ‘भर्ना गर्ने वेलामा कलेजले हामीलाई यहाँ इन्टर्नसिपमा पठाउँछौँ भनेर सम्झौता गरेको थियो, होला त नि भन्ने भयो । सैद्धान्तिक कुरा पढेर सकिँदै थियो, अब इन्टर्नसिपमा जानुपर्ने थियो, कलेजले हामीलाई दुबई पठाउने तयारी गर्यो, त्यहाँको फाइभ स्टार होटेलको नाम र फोटो पनि देखायो, तर हामीलाई जे भनेको थियो, त्यहाँ पुग्दा उल्टो भयो,’ एक पीडित विद्यार्थीले सुनाए, ‘हामीले त्यहाँ पुगेर सोध्दा सम्झौता भएकै छैन भनेर होटेलले भन्यो । त्यसपछि हामीले भौँतारियौँ, केहीले घरबाट पैसा मागेर टिकट काटेर फर्किनुभयो, केही अझै उतै काम खोजेर बस्नुभएको छ, त्यस्तो झुक्याउने कलेज बन्द हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ 

विद्यार्थीद्वारा कलेजको सम्बन्धन खारेज गर्न माग 
कलेजले ठगी गरेको, उल्टै धम्क्याएको, दुबईमा लगेर अलपत्र पारेको भन्दै विद्यार्थीले कलेजको सम्बन्धन खारेज गर्न माग गरेका छन् । उनीहरूले यसअघि पनि कलेजले यसैगरी झुक्याउने गरेको, बढी शुल्क असुल्ने गरेकोलगायत विवरण शिक्षा मन्त्रालयलाई दिएका छन् । ‘कलेज प्रशासनले हाम्रो समस्या समाधानमा कुनै चासो दिएन, शिक्षा मन्त्रालयसँग तीन–चारपटक बैठक बस्यौँ, तर कलेज सञ्चालकले जे गर्छौ गर भनेर धम्क्याइरहेका छन्,’ एक पीडित विद्यार्थीले भने, ‘त्यसकारण अब कलेजको सम्बन्धन खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो, किनभने कलेजले हामीलाई दुव्र्यवहारसमेत गरेको छ, कलेजको गेटबाट भित्र छिर्न दिएको छैन, कर्मचारीहरू धम्क्याउँछन्, हामीले कलेजको बदमासीको अन्त्य होस् भन्ने चाहेका छौँ, उसले हामीसँग लिएको सबै रकम फिर्ता गर्नुपर्छ ।’ 

इन्टर्नसिपको प्रलोभन देखाएर दुबईमा लगेर विद्यार्थीलाई अलपत्र पारेको भन्दै १२ वटा विद्यार्थी संगठनले ब्रिटिस कलेजको सम्बन्धन खारेज हुनुपर्ने माग राखेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरूले कलेजले अवैध कार्यक्रम चलाएको, विद्यार्थीसँग चर्को शुल्क असुल गरेको, फरक कोर्स पढाएको भन्दै कलेज सञ्चालन अनुमति रद्द गर्न माग गरेका हुन् । कलेजको ज्यादतीविरुद्ध उत्रिनेमा अनेरास्ववियु, अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ), अखिल नेपाल विद्यार्थी फेडेरेसन, जनपक्षीय विद्यार्थी युनियन नेपाल, अखिल पाँचौँलगायत छन् । उनीहरूले कलेजले विद्यार्थीलाई टर्चरसमेत दिने गरेकाले शिक्षा मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् ।

 शिक्षामन्त्री महावीर पुन भन्छन्–कलेजले आफूले गरेको गल्ती महसुस गरेन भने एक्सन लिन्छौँ
छानबिन गर्दा कलेजको नै कमजोरी देखियो, अब विद्यार्थीको पैसा फिर्ता गर्नुहोस् तथा अन्य कमजोरी सल्टाउन भनेर निर्देशन दिइसकेका छौँ । छानबिनमा कलेजकै दोष भेटाएपछि उनीहरू तर्सिएका हुन् । अहिले उनीहरूले विद्यार्थी फकाउन थालेका छन् । कलेजले विद्यार्थीलाई इन्टर्नसिप र विदेशको सपना देखाएर भर्ना गरेको र शुल्क लिएको रहेछ । विद्यार्थीलाई झुक्याएर मार्केटिङ गरेको पाइयो । यदि उसले आफूले गरेको गल्ती महसुस गरेन भने थप एक्सन लिन्छौँ ।

सुझावित समाचार